काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङको व्यक्तिगत रोड रेसमा भारतले शनिबार दोहोरो स्वर्ण जितेको छ ।
भारत पुरुष÷महिला दुवैमा पहिलो भएको हो । अघिल्लो दिन पनि भारतले दुई स्वर्ण जितेको थियो ।
पुरुषको निर्धारित १ सय किलोमिटर दूरी भारतका सबिर सिंहले २ घण्टा ४८ मिनेट ४०.०६७ सेकेन्डमा पूरा गरे । श्रीलंकाले रजत र कांस्य दुवै जित्यो । नेपालका राजीव राई पाँचौं तथा सुरज राणा छैटौं भए । राजीवले २ घण्टा ५१ मिनेट १२.५२३ सेकेन्ड तथा सुरजले २ घण्टा ५१ मिनेट १४.४१० सेकेन्ड समय खर्चे ।
महिलामा पहिलो बनेकी भारतकै सोनाली चानुले ८० किलोमिटर दूरी तय गर्न २ घण्टा ३५ मिनेट ५४.५७३ सेकेन्ड समय लगाइन् । भारतकै स्वस्ती सिंह दोश्रो तथा श्रीलंकाकी सोलोचना नावानागे तेश्रो बने ।
नेपालका लक्ष्मी मगर २ घण्टा ३५ मिनेट ५५.९२७ सेकेन्डमा पाँचौं, आशा लिम्बू २ घण्टा ३५ मिनेट ५६.९२७ सेकेन्डमा सातौं, इन्द्रकुमारी तामाङ २ घण्टा ३६ मिनेट ०७.४८७ सेकेन्डमा १३ औं तथा अनिशा गुरुङ २ घण्टा ३६ मिनेट १४.३३३ सेकेन्डमा १६ औं स्थानमा रहे ।
शनिबारको स्पर्धामा पुरुषतर्फ ९ र महिलामा १६ खेलाडी सहभागी थिए । जम्मा आठ स्पर्धा समावेश साइक्लिङमा भारत र नेपालले समान ४–४ स्वर्ण हात पार्न सफल भए ।