पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले रजत पदक जितेका छन् ।
पोखरामा शनिबार भएको पुरुष ९६ केजी तौल समूहमा विशालले रजत जितेका हुन् । विशालले स्न्याचमा १०७ र क्लीन एण्ड जर्कमा १४० गरी कुल २४७ भार बहन गरे ।
पुरुष ९६ केजी तौल समूहमा बंगलादेशका खेलाडी जाइरुल इस्लामले स्वर्ण जिते । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४२ गरी कुल २६२ भार उठाउँदै स्वर्ण पदक जितेका हुन् ।
भुटानका किन्ले ग्याल्सेनले कास्य पदक जिते । उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ९० सहित कुल १ सय ७० भार उठाउन सके ।
पुरुष १०२ केजी तौल समूहमा नेपालका तर्फबाट सन्देश गुरुङले कास्य जिते । सन्देशले स्न्याचमा १०० र क्लीन एण्ड जर्कमा १३५ सहित कुल २३५ उठाउँदै कास्य पदक दिलाएका हुन् ।
यस स्पर्धामा पाकिस्तानी खेलाडी उस्मान अम्जाद राठोरले स्वर्ण र बंगलादेशले रजत पदक जित्यो । पाकिस्तानी खेलाडीले स्न्याचमा १५० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३३० तौल उठाउँदै स्वर्ण जितेका हुन् ।
महिलातर्फ नेपालले २ कास्य पदक जितेको छ ।
नेपालकी तारादेवी पुनले महिला ७६ केजीमा कास्य जितिन् । यस स्पर्धामा बंगलादेशले स्वर्ण र श्रीलंकाले कास्य जित्यो । यस्तै लक्ष्मी वनले पनि कास्य पदक जित्न सफल भईन् ।
यससँगै भारोत्तोलनतर्फ नेपालले २ स्वर्ण, १ रजत र ९ कास्य जित्न सफल भएको छ ।