पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालका विकास थापाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् ।
पुरुष ८९ केजी ताैल समूहमा विकासले स्वर्ण जितेका हुन् । विकासले स्न्याचमा १ सय २३ र क्लिन एन्ड जर्कमा १ सय ४६ गरी कुल २ सय ६९ केजी भार उठाए ।
विकासले भारतमा भएको १२ औं सागमा रजत जितेका थिए ।
विकास भारोत्तोलनमा नेपाललाई स्वर्ण दिलाउने तेस्रो खेलाडी बने । यस्तै दोस्रो पुरुष खेलाडी बने । सागमा यसअघि कमल बहादुर अधिकारी मात्र स्वर्ण जितेका थिए ।
यस स्पर्धामा बंगलादेशका मोहमदश खायत हुसेनले रजत जिते । उनले स्न्याचमा १ सय २३ र क्लिन एन्ड जर्कमा १ सय ४५ गरि कुल २ सय ६८ केजी भार उठाए ।
महिला ६४ केजी तौल समूहमा नेपालकी देवी चौधरी यसपालि पनि कास्य पदकभन्दा माथि उठन् सकिनन् । नेपाल प्रहरीमा आबद्ध उनले १२ औं संस्करणमा नेपाललाई कास्य दिलाएकी थिइन् । यसपालि उनले १ सय ५३ किलो तौल उठाउँदै कास्य जितेकी हुन् । उनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८५ किलो तौल उठाइन् । सो तौल समूहमा भारतले नै स्वर्ण जित्न सफल भयो ।
भारतकी राखी हल्डरले स्न्याचतर्फ ९० र क्लीन एण्ड जर्कमा १ सय १० गरी २ सय किलो उठाउँदै शीर्ष स्थानमा रहिन् । यस्तै, श्रीलंकाकी भी। हर्षिकाले रजत जितिन् । उनले स्न्याचमा ७० र क्लीन एण्ड जर्कतर्फ एक सय गरी कुल १ सय ७० किलो भार बहन गरिन् ।