काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्समा नेपालका दुई खेलाडी सेमिफाइनल पुगेका छन् ।
बिहीबार भएको क्वाटरफाइनलबाट युवा खेलाडी स्यान्टु श्रेष्ठ र अनुभवी खेलाडी पुरुषोत्तम बज्राचार्यले अन्तिम चारको यात्रा तय गरे ।
क्वाटरफाइनलमा स्यान्टुले पाकिस्तानका मोहम्मद रमेजलाई ४–२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे । उनले रमेजसँगको पहिलो र पाँचौ सेटमा हार व्यहोरेका थिए । जसमा उनी ६–११ र ४–११ स्कोरमा पराजित भए।
यस्तै स्यान्टुले ११–८,११–८, ११–६, ११–५ गरि चार सेटमा जित हात पारे।
यस्तै, अर्को क्वाटरफाइनलमा नेपमलका पुरुषोत्तम बज्राचार्यले श्रीलंकाका निर्मल भवानकेलाई ४–३ सेटमा पराजित गरे। उनी श्रीलंकन खेलाडीसँग दोस्रो, तेस्रो र पाँचौ सेटमा पराजित भएपनि अन्य ४ सेट जित्दै सेमिफाइनलमा पुगेका हुन् ।
पुरुषोत्तमले भवानकेलाई ११–९, ७–११, ७–११, ११–९,१०–१२, ११–८ र अन्तिम सेटमा ११–८ को जित हात पारेका थिए ।
अर्को क्वाटरफाइनल खेलमा भारतका हर्मित देशाइले पाकिस्तानका फहाद ख्वाजालाई पराजित गरे भने भारतकै अमलराज एन्थोनिले श्रीलंकाका इमेस उदयलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।
महिला सिंगल्समा भने नेपाली खेलाडी क्वाटरफाइनल भन्दा माथि स्थान जान सकेनन् ।
नेपालबाट सिंगल्समा रविना महर्जन र नविता श्रेष्ठले सहभागिता जनाएको थियो । रविना लिग चरणबाटै आउट भएपनि नविता क्वाटरफाइनलसम्म पुगेकि थिइन् ।
नविता क्वाटरफाइनलमा श्रीलंकाकी इरान्दी दुसीकासँग ४–१ को सेटमा पराजित भएपछि महिला सिंगल्समा नेपालको चुनौति सकिएको छ ।