काठमाडौं । मंगल थारुको सपना थियो, देशका लागि साग खेलकुदमा स्वर्ण जिताउने । तयारी राम्रै थियो । नतिजा समेत अनुकुलनै निस्किदै थियो ।
पहिलो चरणमा बंगलादेशका खेलाडीलाई हराउँदै उनी फाईनल पुगेका थिए ।
बिहिबारको फाइनल खेल्न उनी तयार थिए । भारतीय खेलाडी बिक्रान्त बलियान स्वर्ण भिडन्तका लागि कोर्ट आईसकेका थिए ।
मंगल भने खुट्टा खुच्चाउँदै कोर्टमा आए । निर्णायकले भारतीय खेलाडीलाई विजेता घोषणा गरे ।
मंगल निशब्द थिए । लाचार थिए ।
आँखै अगाडी सपना लुटिएको हेर्न विवश थिए ।
सागमा स्वर्ण जित्ने मंगलको सपना भताभुंग बन्यो । अन्तिममा मेडिकल ईन्जुरी घोषित भएपछि उनी फाईनल खेल्न अयोग्य बनेका थिए ।
‘मुखैमा आएको गाँस खोसियो ।’ भावुक बनेका मंगलले भने ।
‘फाइनलनै भैसकेको छ । शरिरले साथ दिएको छैन । मुखबाट गाँस खोसिएको जस्तो भएको छ । शरिरले साथ नदिएको हो कि भाग्यनै नभएको हो ।’ मंगलले आफैसंग उत्तर मिश्रित प्रश्न गरे ।
बुधबार सेमिफाइनलमा उनले बंगलादेशी खेलाडीमाथि सानदार जित निकालेका थिए ।
पहिलो चरण हारेपनि दोस्रो र तेस्रो चरणमा उनले उत्कृष्ट पुनरागमन गरे । त्यही समय उनले देब्रे खुट्टामा गहिरो चोट बोक ।
खासमा दोस्रो चरणमै उनले चोट बोकेका थिए । तर उनलाई याद भएन ।
तेस्रो चरणमा पुन बंगाली खेलाडीलाई नकआउट हान्न खोजे । उल्टो चोट गहिरियो । अन्तिम समय भएकाले निर्णायकले मंगललाई विजेता घोषित गरे ।
फाइनल त पुगे तर मेडिकल रिपोट उनको पक्षमा आएन ।
रिपोर्टले उनलाई खेल्न अयोग्य घोषित गर्यो ।
फाइनल अघिनै उनी खेल्नका लागि अयोग्य भैसकेका थिए ।
स्वर्ण भिडन्तमा उनी औपचारिकताकालागि एरिनामा पुगे ।
रेफ्रीले भारतीय खेलाडीलाई विजयको संकेत गरे ।
मंगल लाचार थिए ।
उनी अझै हार मान्ने अवस्थामा थिएनन् । उनी अझै जोसमा देखिन्थे । फाईनल जित्छु भन्ने अठोट उस्तै थियो । तर त्यो सम्भव थिएन ।
परिस्थिती उनको हातबाट निकै पर पुगिसकेको थियो ।
‘आखाबाट आँशु झर्याे । आएको स्वर्ण गयो । ११ बर्षको दुःख क्षणभरमै गयो । खुट्टा नसक्ने भएको बिर्सिएको थिए । अझै खेल्न मन थियो ।’ उनले भने ।
‘अझपनि लाग्छ, स्वर्ण जित्न सक्छु । तर खेल खेल्न अयोग्य घोषणा भईसकेको छ । मनले मान्दैन । स्वर्ण अझै ल्याउँछु जस्तो लाग्छ ।’ मंगल बौरिन्छन् ।
भारतमा भएको १२ औ सागमा मंगल पदक विहिन रहे । घरमै आयोजना हुने साग जित्ने उनको अठोट थियो । बर्षको सुरुवातमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले आफ्ना प्रतिद्वन्दीलाई सहजै नकआउट गराएका समेत थिए । तर सबै तयारी र परिश्रमलाई चोटले क्षणभरमै उडाएर लग्यो ।
बर्दियामा जन्मिएको मंगल विभागीय टिम एपीएफमा आबद्ध छन् ।
११ बर्षअघि उसु खेल्न सुरु गरेका मंगलको देशलाई स्वर्ण जिताउने लक्ष्य चोटले खोसेर लगेको छ ।
चोटबारे परिवारले बिहान मात्रै थाहा पाए । परिवार सबै निराश छन् । खानै पनि खाएनन् ।
मंगल खेल जिन्दगीको उत्तराद्र्धमा छन् । विगत दुई बर्षदेखि उनी बर्दिया पुगेका छैनन् । छोरी जन्मिएको २४ दिन मात्र भयो, उनले अनुहार हेर्न पाएका छैनन् ।
जितेको स्वर्ण छोरीमा समर्पण गर्ने उनको रहर थियो ।
अब त्यो रहर, रहरै बन्ने भयो ।
उमेरले साथ दिए देश र छोरीका लागि अर्को सागमा स्वर्ण जितेर देखाउने मंगलको चाहना छ ।