काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत साइक्लिङको क्रस कन्ट्री पुरुषमा नेपालले स्वर्ण जितेको छ ।
गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा बिहिबार नेपालका वुद्धि बहादुर तामाङले स्वर्ण जितेका हुन् ।
क्रस कन्ट्रीको ४ किमिको ४ ल्यापमा वुद्धिले १ घण्टा १९ मिनेट ०८ सेकेण्डको समय निकाले ।
यस्तै नेपालका राजिब राईले रजत र नेपालकै ओकेश राज बज्राचार्यले कास्य जितेका छन् । राजिबले १ घण्टा १९ मिनेट ४० सेकेण्ड र ओकेशले १ घण्टा २१ मिनेटको समय निकाले ।
महिलातर्फ नेपालकै लक्ष्मी मगरले स्वर्ण जित्दा उषा खनालले रजत जितेकी थिइन् ।
वुद्धिले स्वर्ण जितेसँगै नेपालले साग इतिहासको एकै संस्करणमा सर्वाधिक स्वर्णको कीर्तिमान बनाएको छ ।
नेपालले साग इतिहासमा पहिलोपटक ३२ स्वर्ण जितेको हो ।
नेपालले यस अघि नेपालमै भएको आठौं सागमा सर्वाधिक ३१ स्वर्ण जितेको थियो ।