काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को चौंथो दिन बुधबार नेपालले ऐतिहासिक कोशेढुंगा पार गरेको छ ।
नेपालले बुधबार साग खेलकुदमा १ सय स्वर्ण पदकको आँकडा पुरा गरेको छ । तेक्वान्दोका सक्षम कार्कीले पुरुष ८७ केजी माथिको गेरुगीमा स्वर्ण जित्दा नेपालले स्वर्ण पदकमा शतक पुरा गरेको थियो ।
घरेलु भूमिमा जारी १३ औं सागमा २९ स्वर्ण जितेसँगै नेपालले स्वर्णमा शतक पुरा गरेको हो । बुधबार नेपालले ६ स्वर्ण जितेको थियो ।
यस अघि १२ औं संस्करणसम्म नेपालले ७१ स्वर्ण जितेको थियो ।
चौंथो दिन तेक्वान्दोबाट नेपालका सक्षम कार्की र संगीता बस्यालले स्वर्ण जितिन् । यस्तै साइक्लिङको डाउनहिलमा नेपालका रमेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जिते ।
उसुमा नेपालका हिमाल दिपक हमाल र करातेमा अनुपमा मगरले स्वर्ण जितिन् ।
पदक तालिकामा भने नेपाल पछि परेको छ । तेस्रो दिनसम्म अग्रता बनाएको नेपालले चौंथो दिन अग्रता गुमाएको हो ।
चौंथो दिन नेपालले २९ स्वर्णसहित कुल ७३ पदक जितेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ ।
भारतले ३७ स्वर्णसहित कुल ७४ पदकसहित अग्रता बनाएको छ । यस्तै श्रीलंकाले ७ स्वर्ण जित्दा पाकिस्तानले ६ स्वर्ण जितेको छ ।
बंगलादेशले २ स्वर्ण र माल्दिभ्सले १ स्वर्ण जितेको छ । भुटान स्वर्णविहिन रहेको छ ।