काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सुटिङको १० मिटर एयर राइफलमा महिलातर्फ तीन वटै पदकमा भारतले कव्जा जमाएको छ ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा मंगलबार भएको १० मिटर महिला एयर राइफलको फाइनलमा भारतकी मेहुली घोषले स्वर्ण पदक हात पारिन् ।
शुरुदेखिनै अग्रता बनाएकी घोषले २४ औं राउण्डको फायरमा २५३.८ अंकका साथ स्वर्ण पदक हात पारिन् । यस्तै रजत पदकमा भारतकै श्रीयना सदांगीले २५०.८ अंकका साथ नाम लेखाउँदा भारतकै श्रीया अग्रवालले २२ औं राउण्डमा २२७.२ अंकका साग कास्य पदक जित्न सफल भइन् ।
यो इभेन्टमा नेपालकी कल्पना परियारले मात्रै अन्तिम आठमा स्थान बनाएकी थिइन् । तर उनी १६ औं राउण्डमा आउट भएकी थिइन् । कल्पाना १६१.८ अंक बनाउँदै आउट भएकी हुन् ।
यस्तै पुरुष २५ मिटर फायर पेस्तोलमा पनि भारतले नै स्वर्ण पदक जितेको छ । भारतले स्वर्ण र रजत पदक जित्दा पाकिस्तानले कास्य पदकमा चित्त बुझायो । भारतका योगेश सिंहले ५८२ अंकका साथ स्वर्ण पदक जित्दा भारतकै गुरप्रित सिंहले ५८० अंकका साथ रजत पदक जिते ।
५७४ अंक बनाएका पाकिस्तानका मोहम्मद अख्तरले कास्य पदक हात पारे । यस इभेन्टमा नेपालका विजय कार्की आठौं स्थानमा रहँदा सुमन तुलाधर र अनिल ठकुरी ११ औं र १२ औं स्थानमा आए ।
५० मिटर राईफल थ्री पोजिसनको स्वर्ण पदक पनि भारतले नै जितेको छ । भारतका चेन सिंहले ४५३.६ अंकका साथ स्वर्ण पदक जित्दा भारतकै सिरन अखिलले ४५२.७ अंकका साथ रजत र पाकिस्तान अदिल गुफ्रिनले ४४३.८ अंकका साथ कास्य पदक जिते ।