काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसको पुरुष टिम इभेन्ट्समा नेपालले लिग चरणको पहिलो खेलमा जित हात पारेको छ।
लैनचौरस्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकामाथि ३-१ सेटको जित हात पारेको हो । अब नेपालले सेमिफाइनल प्रवेशका लागि मंगलबार माल्दिभ्सँग खेल्नेछ।
नेपालबाट टिम इभेन्टमा स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य र शिव सुन्दर गोथेले सहभागिता जनाएका थिए। आजै भएको खेलमा भारतले पाकिस्तान र बंगलादेशमाथि जित हात पारेको छ।
दुवै खेलमा भारतले ३-० को सोझो सेटमा जित हात पार्यो। भारत सेमिफाइनलमा पुगिसकेको छ। यस्तै श्रीलंकाले यसअघि भएको पहिलो खेलमा माल्दिभ्स लाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।
महिलातर्फ नेपाली टोली महिलातर्फ आज भएको खेलमा भारतले माल्दिभ्स र पाकिस्तानलाई समान ३-० कै सेटमा पराजित गरेको छ ।
यता श्रीलंकाले महिलातर्फ बंगलादेशलाई ३-१ को सेटमा पराजित गरेको छ।
भारत महिलातर्फपनि सेमिफाइनलमा पुगिसकेको छ। महिला तर्फ नेपाली टोलीले श्रीलंकासँग ३-० सेटमा पराजित भएको छ।
नेपाली महिला टोलीले भोलि बंगलादेशसँग खेल्नेछ।