काठमाडौं । पाँचौ संस्करणको धारा नेपालगन्ज म्याराथनसँग निदान डाइग्नोस्टिक एण्ड हेल्थ सेन्टर जोडिएको छ ।
आयोजक क्रिएटिभ ह्याण्ड्सले निदानसँग दुई वर्षे सम्झौता गरेको छ । निदानका प्रबन्ध निर्देशक सन्दिप पोखरेल र क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
पाँचौ संस्करणको प्रतियोगिता मंसिर ७ गते हुनेछ ।
यस संस्करणमा पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड समावेश गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी ८ देखि १२ बर्ष उमेर समूह, शारीरिक रुपले अशक्तका लागि पनि दौड स्पर्धा र ३ किलोमिटरको कर्पोरेट दौड पनि राखिएको छ ।
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीबीच मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै क्रिएटिभ ह्याण्ड्सले हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना गर्दै आएको छ ।