काठमाडौं । पाँचौ संस्करणको नेपालगन्ज म्याराथनसँग राष्ट्रिय वाणिज्य बैंक र आर्शिवाद पेन्ट्स जोडिएको छ ।
आयोजक क्रिएटिभ ह्याण्ड्सले सोमबार वाणिज्य बैंक र आर्शिवाद पेन्ट्ससँग सह प्रायोजकसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।
सम्झौतासँगै नेपालगन्ज म्याराथनमा आर्शिवाद पेन्ट्स इन एसोसिएसन विथ र राष्ट्रिय वाणिज्य बैंक पावर्ड बाईको रुपमा रहने छ ।
पाँचौ संस्करणको प्रतियोगिता मंसिर ७ गते हुनेछ ।
यस संस्करणमा पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड समावेश गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी ८ देखि १२ बर्ष उमेर समूह, शारीरिक रुपले अशक्तका लागि पनि दौड स्पर्धा र ३ किलोमिटरको कर्पोरेट दौड पनि राखिएको छ ।
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीबीच मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै क्रिएटिभ ह्याण्ड्सले हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना गर्दै आएको छ ।