काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले इन्डोनेसियामा आयोजना हुने १८ औं संस्करणको एसियन गेम्समा सहभागी हुने खेल संघलाई खेल पोशाक वितरण कार्य सुरु गरेको छ ।
एनओसीले मंगलबारबाट एसियन गेम्सको दौरान प्रयोग हुने खेल पोशाक सम्बन्धित संघहरुलाई दिन सुरु गरेको हो । पहिलो दिन एनओसीले विभिन्न ५ संघलाई खेल पोशाक हस्तान्तरण गरेको छ ।
एनओसीले जुडो, भारोत्तोलन, ट्राइथोलन, तेक्वान्दो र गल्फको संघलाई खेल पोशाक हस्तान्तरण गरेको हो । अन्य खेल संघलाई बुधबार र बिहिबारसम्म खेल पोशाक उपलब्ध गराईसकिने एनओसीले जनाएको छ । एनओसीले वैदेशिक प्रशिक्षणमा जाने खेलसंघलाई प्राथमिकतामा राखेर खेल पोशाक बाड्न सुरु गरेको जनाएको छ ।
प्रतिनिधि सभा सदस्य एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठले सम्बन्धित संघका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा एनओसीका उपाध्यक्षद्वय धिरेन्द्र प्रधान, ज्योति राणा, सदस्य अशोक बज्राचार्य, मेडिकल प्रमुख डा सरोज कृष्ण श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।
यो एसियन गेम्समा नेपालबाट २९ खेलले सहभागिता जनाउदै छ । जाकर्ता र पालेमबाङमा हुने एसियन गेम्स भदौ २ देखि १६ गतेसम्म हुँदैछ । जसमा नेपालबाट १ सय २९ पुरुष र ५६ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले एसियन गेम्समा चिनियाँ कम्पनि एजिलिटी कम्पनीको खेल पोशाक लगाउने छन् । एनओसीले शुक्रबार नै एजिलिटी हेल्थ एण्ड वेलनेस कर्पोरेसनसंग प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौतापछि एजिलिटीले एसियन गेम्समा सहभागिता जनाउने सबै खेलका खेलाडी तथा पदाधिकारीहरुलाई विभिन्न ७ थरीका पोशाक उपलब्ध गराएका थिए । जसमा ब्याग, क्याप, ट्रयाक सुट, सर्ट, टि सर्ट, जुत्ता र मोजा रहेको छ ।