काठमाडौं । एसियन गेम्स खेल्ने नेपाली गल्फ टोलीले थाइल्याण्डमा बिशेष तयारी गर्ने भएको छ । थाइल्याण्डमा २० दिने प्रशिक्षणको लागि पाँच सदसीय नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।
भदौ २ देखि १६ गतेसम्म हुने एसियन गेम्समा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । नेपालबाट नम्बर एक खेलाडी टंक बहादुर कार्की, शुक्र बहादुर राई, पृथ्वी मल्ल र अजित विकले खेल्ने छन् । नेपाली टोलीका प्रशिक्षकमा दिपक आचार्य रहेका छन् । एसियन गेम्समा नेपालले टिम इभेन्टस् र एकलमा प्रतिस्पर्धा गर्नेछ ।
एसियन गेम्सको लागि नेपाली टोलीले दुई महिनाबाट क्लोज क्याम्पमा रहेर तयारी गरिरहेको छ । अब टोलीले थाइल्याण्डमा २० दिने बिशेष प्रशिक्षण गर्नेछन् । थाइल्याण्डमा नेपाली टोलीलाई थाई प्रशिक्षक यीमले प्रशिक्षण दिनेछन् ।
थाइल्याण्ड जाने नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले विदाई गरे ।
विदाईपछि बोल्दै नेपाली टोलीका प्रशिक्षक आचार्यले तयारी राम्रो भएको बताए । यस्तै उनले व्यक्तिगत तर्फ पदकको आश गरेको पनि बताए ।