काठमाडौं । दोस्रो संस्करणको मेयर कप टेबल टेनिस प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ ।
आयोजक ललितपुर जिल्ला टेबल टेनिस संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबारबाट सुरु हुने जनाएको छ ।
प्रतियोगितामा ललितपुर महानगरपालिकाका २९ वटा वडाका करिब ४ सय बढी महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा १२ वटा इभेन्ट्स समावेश गरिएको छ । जसमा पुरुष टिम, पुरुष एकल, पुरुष डबल्स, महिला एकल, मिक्स डबल्स, बोइज जुनियर (यू-१६), गर्ल्स जुनियर (यू-१६), भेट्रान पुरुष एकल (४० वर्ष माथि), भेट्रान पुरुष एकल (५० वर्ष माथि), भेट्रान पुरुष एकल (६० वर्ष माथि) र महिला भेट्रान एकल (४० वर्ष माथि) समावेश गरिएको छ ।
प्रतियोगिताको एकलतर्फको विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रोले ३ हजार पाउने छन् ।