स्यान्टु सागका लागि छनोट

काठमाडौं । टेबल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठ नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट भएका छन् ।
आइतबार भएको छनोटमा स्यान्टुले प्रदेश नम्बर ५ का सुनिल महर्जनलाई हराए । उनले सुनिललाई ३-० को सेटमा पाखा लगाए ।
सागका लागि छनोट हुने क्रममा स्यान्टुले ११-२, ११-८ र ११-४ ले पराजित गरे ।
गत असोज ९ गते मोटरसाइकल दुर्घटनामा परेपछि स्यान्टुले यसअघिको छनोटमा प्रतिस्पर्धा गरेका थिएनन् । तर, स्यान्टु ठिक भएको खण्डमा संघले उनलाई सुनिलसँग पुन: छनोट खेल्ने अवसर दिएको थियो ।
सागका लागि छनोट भएपछि स्यान्टुले अब देशको लागि पदक ल्याउने गरि तयारी गर्ने बताए ।
'चाडै ठिक हुँदा आश्चर्य लागेको छ । सबैको सहयोगले ठिक भए । खेल्न सक्छु भन्ने लागेको थियो त्यो पुरा भयो,' स्यान्टुले, 'अब देशको लागि पदक ल्याउन खेल्ने छु ।'
यस अघि अखिल नेपाल टेबल टेनिस संघले सागका लागि १० खेलाडी छनोट गरेको थियो । जसमा सुनिल पनि रहेका थिए ।
स्यान्टु छनोट भएसँगै सागका लागि नेपालबाट खेल्ने १० खेलाडीको टुंगो लागेको छ ।
पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, एपीएफका पुरुषोत्तम वज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का सम्योग कपाली र स्यान्टु छनोट भए ।
महिलामा प्रहरीकी नविता श्रेष्ठ, नेपाल आर्मीकी रविना महर्जन र दिक्षा तामाङ, प्रहरीकी एलिना महर्जन तथा एपीएफकी सिका सुवाल छनोट भएका छन् ।