काठमाडौं । नेपालका अभिनव शाक्य र सितु सिंह मास्केले सातौं गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । अष्ट्रेलियामा सम्पन्न च्याम्पियनसिपमा दुवैले ग्यरोगीतर्फ स्वर्ण जितेका हुन् ।
क्यारेरा इन्डोर स्टेडियममा आइतबार अभिनवले ४७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । अभिनवले फाइनलमा अष्ट्रेलियाका ट्रोय विलियम्सलाई ९ – ४ ले पराजित गरे । उनले सेमिफाइनलमा जर्मनीका ट्रिस्तान सासलाई ८ – ६ ले हराएका थिए ।
गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा अभिनवको यो दोस्रो स्वर्ण हो । च्याम्पियनसिपमा अभिनवले यसअघि पुम्सेमा स्वर्ण जितेका थिए ।
यस्तै महिलाको ४६ केजीमूनिको तौल समूहमा स्वर्ण जितेकी हुन् । सितुले फाइनलमा अष्ट्रेलियाकी एमी लिलाई १२-३ ले हराएर स्वर्ण जितेको टिम व्यवस्थापक तथा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए ।
सितुले शनिबार पुम्सेमा कास्य जितेकी थिईन् । पुम्सेमै नेपालकी यङचेन शेर्पाले समेत स्वर्ण जितेकी थिइन् । च्याम्पियनसिपमा सहभागी हुन् ५ सदस्यीय तेक्वान्दो टोली गत बिहिबार नै अष्ट्रेलिया गएका थिए । टोलीको प्रशिक्षकमा कुमार लामा घिसिङ रहेका छन् ।