काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले विभिन्न अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पदक जित्ने पाँच खेलाडीलाई नगदसहित सम्मानित गरेको छ । राखेपले आइतबार 'खेलाडी तथा श्रष्टा सम्मान' कार्यक्रममा अन्तर्राष्ट्रिय पदक जित्ने पाँच खेलाडीलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा दुई स्वर्ण, एक रजत र दुई कास्य बिजेता खेलाडी रहेका छन् । स्वर्ण बिजेता खेलाडीमा मुवा थाईका अनिशा खड्का, राहुल थोकर लामा रहेका छन् ।
अनिशा र राहुलले गत बर्ष कम्बोडियामा भएको प्रथम विश्व कुन खेमर च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । अनिशाले महिलाको प्रोफेसनल ६७ केजीमा र राहुलले पुरुषको ५५ केजी तौलसमूहमा नेपाललाई स्वर्ण दिलाएका थिए । स्वर्ण बिजेता दुवैले जनही एक एक लाख प्राप्त गरे ।
यस्तै रजत बिजेतामा शारीरिक सुगठनकी ननिता महर्जन नगद ६५ हजारबाट सम्मानित भईन् । ननिताले मंगोलियामा भएको डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा रजत जितेकी थिइन् ।
यसै च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाउन सफल रुपेश शाही ३५ हजार नगदसहित सम्मानित भए । त्यस्तै कोरियामा सम्पन्न ५१ औं एसियन शारीरिक सुगठन च्याम्पियनसिपमा कास्य बिजेता कमल भण्डारी पनि नगद ३५ हजारबाट सम्मानित भए ।
अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडीहरुलाई रक्षामन्त्री इश्वर पौडेल, युवा तथा खेलकुद मन्त्रि जगत बहादुर सुनार (विश्वकर्मा), राखेपका सदस्यसचिव केशव कुमार बिष्ट लगायतले नगद र सम्मान पत्रले सम्मानित गरे ।