काठमाडौं । नेपालका अभिनव शाक्य र यङचेन शेर्पाले अष्ट्रेलियामा स्वर्ण जितेका छन् । अष्ट्रेलियामा जारी सातौं गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा शनिबार अभिनव र यङचेनले नेपालको लागि स्वर्ण जितेका हुन् ।
क्यारेरा इन्डोर स्टेडियममा नेपालका अभिनवले १३ बर्षमूनिको पुम्सेमा स्वर्ण जितेका हुन् । अभिनवले फाइनलमा अष्ट्रेलियाका ब्लाके मुर्रेलाई हराएर स्वर्ण हात पारेका हुन् । त्यसअघि उनले क्वाटरफाइनलमा अष्ट्रेलियाकै लियोनार्दो ब्रुजे र सेमिफाइनलमा अफगानिस्तानका ऐकन ग्रानिर अमुरलाई हराएका थिए ।
महिलातर्फ यङचेनले पुम्सेको १५ बर्षमूनि स्वर्ण जितेकी हुन् । यङचेनले फाइनलमा क्यानाडाकी सोफी ओडेयालाई हराएकी थिइन् । त्यसअघि उनले क्वाटरफाइनलमा फ्रान्सकी क्रिस्टेल मोरे र सेमिफाइनलमा अष्ट्रेलियाकी इसाबेल पार्कलाई हराएको टिम व्यवस्थापक तथा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए ।
यस्तै पुम्सेतर्फको १३ बर्षमुनि नेपालकी सितु सिंह मास्केले कास्य पदक हात पारिन् । क्वाटरफाइनलमा क्यानाडाकी एरिका डकिन्सलाई हराएकी सितु सेमिफाइनलमा अष्ट्रेलियाकी हन्नाह ड्रेजसंग पराजित हुँदै कास्यमा चित्त बुझाईन् ।
अब अभिनव र सितुले ग्यरोगी विधातर्फ प्रतिस्पर्धा गर्ने छन् । ग्यरोगीतर्फ पनि नेपालका खेलाडीले पदक जित्ने सम्भावना रहेको टिम व्यवस्थापक लामाले जानकारी गराए ।
च्याम्पियनसिपमा सहभागी हुन् ५ सदस्यीय नेपाली टोली बिहिबार नै अष्ट्रेलिया गरेको थियो । नेपाली टोलीको प्रशिक्षकमा काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितीका सचिव समेत रहेका कुमार लामा घिसिङ रहेका छन् ।