काठमाडौं । अस्ट्रेलियामा हुने गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली तेक्वान्दो टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
शनिबारदेखि सुरु हुने च्याम्पियनसिपमा सितु सिंह मास्के र अभिनव शाक्यले पुम्से र ग्यरोगी दुवै विधातर्फ चुनौती प्रस्तुत गर्नेछन् । जुनियरतर्फ सितुले ४० केजीमूनि तौलसमूह र अभिनवले पनि ४० केजीमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।
यङचेन शेर्पाले जुनियर पुम्सेतर्फ प्रतिस्पर्धा गर्नेछन् ।
५ सदस्यीय नेपाली टोलीको नेतृत्व काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितीका सचिव कुमार लामा घिसिङले गर्नेछन् । आगामी २९ जुलाईसम्म हुने प्रतियोगिताको टिम व्यवस्थापकमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।
टोलीलाई ह्वाइटफिल्ड स्कुलका भाइस प्रिन्सिपल पारस श्रेष्ठ र समाजसेवी अन्जना सिंह मास्केले विदाई गरेका थिए ।