काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा खेल संख्या थप्ने तयारी गरिएको छ । अर्को बर्ष नेपालमा आयोजना हुने तय भएको प्रतियोगितामा आयोजकको हिसावले नेपालले खेल संख्या थप गर्ने प्रक्रिया अघि बढाएको छ ।
सोही बिषयमा छलफल र निर्णय गर्न दक्षिण एसिया ओलम्पिक काउन्सिलको कार्यकारिणी बैठक भोली (शनिबार) काठमाडौंमा बस्दैछ । बैठकमा दक्षिण एसियाली खेलकुदमा भाग लिने सात देशका ओलम्पिक काउन्सिलका प्रतिनिधि सहभागि हुने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले खेलपाटीलाई बताए ।
स्रोतका अनुसार आगामी बर्ष काठमाडौंमा हुने सागको १३ औ संस्करण नेपाल सरकारले केही खेल संख्या थप गर्न प्रस्ताव गरेको छ । नेपाल ओलम्पिक कमिटिले भोलीको कार्यकारिणी बैठकमा सो प्रस्ताव पेश गर्नेछ ।
बैठकमा सागमा समावेश हुने खेलका स्पर्धाको बिषयमा समेत निर्णय हुने ओलम्पिक कमिटिका एक पदाधिकारीले बताए । यसअघिको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औ सागमा २५ खेल राख्ने निर्णय गरिसकेको छ ।
प्रतियोगिता अर्को बर्ष मार्च ९ देखी १८ सम्म नेपालमा हुदैछ ।