काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाली खेलकुद विकासको गुरुयोजनाको मस्यौदामाथि छलफल अघि बढाएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गर्दै मन्त्रालयले राष्ट्रिय खेलकुद नीति तथा खेलकुद विकासको गुरुयोजनाको मस्यौदामा सुझाव संकलन गरेको हो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको छलफलमा पुर्व सचिव प्रतापकुमार पाठकले नेपाली खेलकुदको गुरुयोजनाको मस्यौदाबारे जानकारी गराएका थिए । पुर्व सचिव पाठकले नेपाली खेलकुदको वर्तमान अवस्था, चुनौती र सम्भावना सहितको १५ बर्षे गुरुयोजना प्रस्तुत गरेका थिए ।
छलफलमा मन्त्री विश्वकर्माले नयाँ सरकारले विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न अघि बढेको जानकारी दिदै खेलुकद क्षेत्र त्यसको मापन हुने बताए । सरकारले अघि सारेको विकास र समृद्धिको नारालाई खेलकुदले मापन गरिने उनको भनाई छ ।
यस्तै मन्त्री विश्वकर्माले सरकारले अन्तराष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेको हुदाँ ओलम्पिक कानुन र राष्ट्रिय कानुन एउटै भएको बताए । ओलम्पिकको कानुनलाई बेग्लै ठान्ने विगतको अभ्यासले भ्रम सिर्जना गरेको बताउदै उहाँले खेलकुद नीतिलाई चाँडै कार्यान्वयनमा लैजाने जानकारी दिए ।
खेलकुद नीति र गुरुयोजनाप्रति टिप्पणाी गर्दै मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले संघीय संरचना अनुसार नेपाली खेलकुदको पुर्नसंरचनका बिषयमा गुरुयोजना र ऐनले प्रष्ट पार्नुपर्ने बताए । उनले मन्त्रालय र राष्ट्रिय खेलकुद विकास समितिको वर्तमान जनशक्ति व्यवस्थापनलाई खेलकुद नीतिले समेट्नु पर्ने धारणा राखेका थिए ।
पूर्व खेलकुदमन्त्री दलजित विके श्रीपाईलीले गुरुयोजना रणनीतिक महत्वको भएको उल्लेख गर्दै यसलाई अविलम्ब लागु गर्नुपर्ने धारणा राखेका थिए ।
‘हामीले धेरै मेहनत गरेर सुझाव संकलनका आधारमा ऐन र गुरुयोजना बनाएका छौ,’ उनले भने, ‘यसको बिषयमा छलफल हुँदै जादाँ अहिले कार्यान्वयनमा लैजाउ ।’
राखेप सदस्य सचिव केशवकुमार विष्टले मस्यौदा परिमार्जनकालागि छलफल आयोजना गरिएको बताउदै यसले चाँडै पुर्णता पाउने बताए ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले मस्यौदा र ऐन पुरानै तरिकाबाट आएको टिप्पणी गर्दै मस्यौदा लेखनमा नयाँ सोच नदेखिएको बताए ।
मन्त्रालयका सचिव मोहनकृण्ण सापकोटाले प्राप्त सुझावलाई समेटेर अघि बढ्ने जानकारी दिए ।