काठमाडौं । कागेश्वरी मनहरा नगरपालिकामा आयोजना भएको जेसीस म्याराथनको उपाधि भुपेन आङ्देम्बेले जितेका छन् ।
बुधबार भएको ५ किमिको म्याराथनमा २३ मिनेट १० सेकेन्डको समय निकाल्दै भुपेनले उपाधि जितेका हुन् । उपाधिसँगै भुपेनले ३ हजार नगद पुरस्कार प्राप्त गरे ।
म्याराथनमा २७ मिनेट ५ सेकेन्डको समय निकालेका अरुण श्रेष्ठ दोस्रो भए । उनले २ हजार नगद प्राप्त गरे । ३० मिनेट २ सेकेन्डको समय सहित तेस्रो भएका छिरिङ थिङले १ हजार प्राप्त गरे ।
मनहरा जेसीसले आयोजना गरेको जेसीस सप्ताह अन्तर्गत भएको म्याराथनमा ३५ खेलाडीले प्रतिस्पर्धा गरेको मनहरा जेसीसका महासचिब जेसी सागर रोक्काले जानकारी दिए । म्याराथन थली चौर बाट सुरु भएर शिखडा गाऊँ, नयाँ गाऊँ, सानो थली हुँदै थली चौरमा आएर समापन भएको थियो ।
विजेता खेलाडीहरुलाई नेपाल जेसीसका कार्यकारी उपाध्यक्ष जेसी अमिस ढकाल, मनहरा जेसीसकी अध्यक्ष जेसी रजनी थापा, तरुण दल काठमाडौं जिल्लाका अध्यक्ष कृष्णजी खड्का लगायतले पुरस्कृत गरेका थिए । प्रतियोगिताको उद्घाटन नेपाल तरुण दल काठमाडौं जिल्लाका अध्यक्ष खड्काले गरेका थिए ।