एजेन्सी । अर्जेन्टिनाका मुख्य प्रशिक्षक जर्ज साम्पोलीले प्रशिक्षक पद छाडेका छन् । रुस विश्वकपमा खराब प्रदर्शनपछि साम्पोलीले पद त्याग गरेका हुन् ।
विश्वकपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक साम्पोलीले अर्जेन्टिनाको फुटबल एसोसिएसनसंगको सहमतिमा पद छाडेको बीबीसीले जनाएको छ । अर्जेन्टिनाको फुटबल एसोसिएसनले भनेको छ, 'आज एसोसिएसन र पुर्व राष्ट्रिय टिमका प्रशिक्षक साम्पोली प्रशिक्षक सम्झौता अन्त्य गर्न सहमत भएको छ ।'
रुसमा आइतबार सम्पन्न विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएको छ । मुश्किलले दोस्रो चरण प्रवेश गरेको अर्जेन्टिनालाई फ्रान्सले पराजित गरेको थियो । रुस विश्वकप फ्रान्सले नै जितेको छ ।
५८ बर्षिय साम्पोली सन् २०१७ मा प्रशिक्षक नियुक्त भएका थिए । साम्पोलीसंगै फिजियो जोर्गे डेसियो र भिडियो एनालिस्ट माटीअस मन्नाले पनि पद छाडेका छन् ।