एजेन्सी । बेल्जियमले रुसमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार तेस्रो स्थानको लागि भएको खेलमा इङ्ल्याण्डलाई २ - ० ले हराएर बेल्जियमले तेस्रो स्थान हात पारेको हो ।
बेल्जियमको जितमा थोमस म्युनियर र इडेन हाजार्डले समान एक एक गोल गरे । बेल्जियमले दुवै हाफमा एक एक गोल गरेका थिए ।
सेन्ट पिटर्सबर्गमा स्टेडियममा खेलको चौथों मिनेटमै म्युनियरले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ - ० ले अघि रहेको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ८२ औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई २ - ० को जित दिलाए ।
यसअघि समूह चरणको खेलमा पनि बेल्जियमले इङ्ल्याण्डलाई १ - ० ले हराएको थियो । यो हारसंगै इङ्ल्याण्ड भने चौथो स्थानमा समेटिएको छ । बेल्जियमविरुद्ध केहि गोलको अवसर पाएपनि इङ्ल्याण्डले सदुपयोग गर्न सकेन । दोस्रो हाफमा इङ्ल्याण्ड डियरले प्रहार बेल्जियमका डिफेन्सले गोल लाइनबाट बचाएका थिए ।
बेल्जियम सेमिफाईनलमा फ्रान्ससंग १ - ० ले पराजित भएको थियो । यस्तै इङ्ल्याण्ड क्रोएसियासंग अतिरिक्त समयमा २ - १ ले पराजित भएको थियो ।
यो विश्वकपमा तेस्रो भएको बेल्जियम टिमलाई फिफाका अध्यक्ष जियानी इन्फान्टिनो लगायतले कास्य पदक प्रदान गरेका छन् । विश्वकपको इतिहासमा बेल्जियम पहिलोपटक तेस्रो भएको हो । यसअघि बेल्जियम १९८६ को विश्वकपमा चौथो भएको थियो ।

