एजेन्सी । रुस विश्वकप फुटबलमा आज तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुँदैछ । तेस्रो स्थानको लागि बेल्जियम र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै छन् ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा सुरु हुनेछ । र, दुवै टोली तेस्रो हुने लक्ष्यसहित मैदान उत्रने छन् ।
यस्तोमा दुवै टोली जित निकाल्न सबै अश्त्र प्रयोग गर्ने छन् । आफ्ना केहि खेलाडीलाई मुख्य हतियार बनाउने छन् । बेल्जियमले आफ्ना स्ट्राइकर रोमेलु लुकाकुसंग निकै आशा राख्ने छ भने इंग्ल्यान्ड ह्यारी केनमा भर पर्ने छ ।
प्लेयर्स टु वाच
रोमेलु लुकाकु (बेल्जियम)
बेल्जियमका लुकाकु गोल्डेन बुटको दाबेदारीको लागि दोस्रो स्थानमा रहेका छन् । उनले जारी विश्वकपमा चार गोल गरिसकेका छन् । इङ्ल्याण्डका कप्तान ह्यारी केनपछि गोल्डेन बुटको हकदार उनै लुकाकु रहेका छन् । त्यसैले आज लुकाकु तेस्रो स्थानको लागि खेल्दै गर्दा चमत्कारी खेल पस्कदै गोल्डेन बुट आफ्नो नाम लेखाउने दाउमा हुने छन् ।
ट्युनिसिया र पानामाविरुद्ध समान दुई - दुई गोल गरेका २५ वर्षिय लुकाकुले ५ खेलमा ४ गोल गरेका हुन् । लुकाकु इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ब्यबसायीक फुटबल खेल्ने गर्छन् । प्रिमियर लिगमा गत सिजन ३४ खेल खेलेका उनले १६ गोल गरेका थिए । गत सिजन एभर्टनबाट युनाइटेड आएका लुकाकुले च्याम्पियन्स लिगमा ८ खेलमा ५ गोल गरेका थिए ।
शारीरिक तथा प्राविधिक रुपमा उत्कृष्ट देखिने लुकाकु उत्कृष्ट फिनिसरको रुपमा चिनिन्छन् । लामा पास खेल्न माहिर लुकाकु बल पोजिसन राख्न , काउन्टर बल खेल्नमा सिपालु मानिन्छन् ।
आजको खेलमा लुकाकुको एउटै लक्ष्य गोल्डेन बुटमा आफ्नो नाम लेखाई बेल्जियमलाई तेस्रो स्थानमा बनाउनु हुनेछ ।
ह्यारी केन (इंग्ल्यान्ड)
विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुटमा दाबी गरिरहेका कप्तान केनको लक्ष्य इंग्ल्यान्डलाई तेस्रो स्थान दिलाउनु हुनेछ । र, विश्वकपमा ६ गोल गर्ने एक्ला खेलाडी केनको भूमिका महत्वपूर्ण हुनेछ ।
केनले रुस विश्वकपमा ५ खेल खेलका छन् । उनले पानामाविरुद्ध ह्याट्रिक गरेका थिए । त्यस्तै ट्युनिसियाविरुद्ध २ र कोलम्बियाविरुद्ध एक गोल गरेका थिए ।
२४ वर्षिय युवा स्टाइकर केनले ब्यवसायीक फुटबल घरेलु क्लब टोटनह्यामबाट खेल्ने गर्छन् । गत सिजन ३७ खेल खेलेका उनले ३० गोल गरेका थिए । त्यस्तै च्याम्पियन्स लिगमा ७ खेल खेल्दै ७ नै गोल गरेका थिए ।
शारिरीक रुपमा निकै नै फुर्तिला देखिने केन पेनाल्टी प्रहारमा पोख्त मानिन्छन् । उत्कृष्ट फिनिसरको भुमिकामा देखिने केन बल पोजिसन राख्न, विपक्षी डिफेन्सलाई काबुमा राख्न माहिर मानिन्छन् ।
बेल्जियमविरुद्ध मैदान उत्रदा केन इंग्ल्यान्डलाई तेस्रो स्थान दिलाउदै गोल्डेन बुटमा आफ्नो नाम लेखाउन चाहन्छन् ।