एजेन्सी । फुटबल घर फर्किएन । अर्थात विश्वकप जित्ने इङ्ल्याण्डको सपना समाप्त भयो । सेमिफाईनलमा इङ्ल्याण्डले क्रोएसियासंग २–१ को नमिठो हार ब्यर्होयो ।
प्रश्न जिवितै छ, इङ्लिस प्रशिक्षक ग्यारेथ साउथगेटका लागि युवा टोली सम्मिलित रुस विश्वकप कस्तो रह्यो त ?
विश्वकपमा तेस्रो स्थानका लागि खेल्नु कसैलाई लागि रुचिको कुरा होईन । तर, इङ्ल्याण्ड र बेल्जियम प्रतियोगिताको तेस्रो स्थानका लागि आज राति खेल्दैछन् ।
उनीहरुले समूह चरणको अन्तिम खेलमा अर्थहिन तरिकाले यस्तै म्याच खेलेका थिए । तर, आजको खेलले रुसी विश्वकपको गोल्डेन बुटको भने निर्धारण गर्न सक्छ । अर्थात धेरै गोल गर्ने खेलाडीमा इङ्ल्याण्डका ह्यारी केन र बेल्जियमका रोमेलु लुकाकु प्रतिस्पर्धामा छन् ।
केनले ६ गोल गरेका छन् भने लुकाकुको नाममा चार गोल रहेको छ । फाइनल पुगेका केलियन एम्बाप्पे र एन्टोनी ग्रिजम्यानले समान ३ गोलले उनीहरुलाई पछ्याईरहेका छन् । रुसी विश्वकपको गोल्डेन बुट केनकै नाममा हुन सक्छ । यदि उनले अवार्ड हात पारे सन् १९८६ मा ग्यारी लिनिकर पछि गोल्डेन बुट जित्ने दोस्रो इङ्लिस खेलाडी बन्नेछन् ।
प्रशिक्षक रोबर्टो मार्टिन्जले बेल्जियम फुटबल युवा प्रतिभाको धनि भएको बताउदै आफ्नो ध्यान सन् २०२० को युरोकपमा गएको बताएका छन् । ‘हाम्रो ध्यान फाईनल खेलमा हुन आवश्यक छ । त्यस अगाडी हामीलाई तेस्रो स्थानकालागि प्रतिस्पर्धा गर्ने अवसर समेत प्राप्त छ ।’ उनी भन्छन् ।
तर, इङ्ल्याण्डका प्रशिक्षक साउथगेट इमान्दारीपुर्वक कुनैपनि टिम तेस्रो स्थानका लागि खेल्न नचाहने दाबी गर्छन् । ‘हामीले तयारीका लागि दुई दिन पायौ । हाम्रो क्षमता अनुसारको प्रर्दशन गर्ने कोशिश गर्नेछौ । सधैभरी देशको जर्सीमा खेल्नु गर्वको बिषय हो । यसमा प्रश्न गर्ने कुनै बिषय छैन ।’ उनी भन्छन् ।
बेल्जियमका डिफेन्डर थोमस म्युनिर आजको खेलमा उपलब्ध हुनेछन् । जसले फ्रान्ससंगको सेमिफाईनल खेल गुमाएका थिए । यता, प्रशिक्षक मार्टिन्जले केही परिवर्तन गर्न सक्छन् । तर गोल्डेन बुटको दौडमा रहेका रोमेलु लुकाकुले सुरुवाती अवसर पाउनेछन् ।
इङ्लिस प्रशिक्षक साउथगेटले टोलीमा केही परिवर्तन हुन सक्ने बताएका छन् । तर, जोर्डन हेन्डरसन र एस्ले योङ इङ्लिस टोलीलाई उपलब्ध हुनेछन् ।
समूह चरणको अन्तिम खेलमा बेल्जियमले इङ्ल्याण्डलाई १–० ले हराएको थियो । त्यसअघि भएको २१ भिडन्तमा इङ्ल्याण्डले मात्र एक खेल गुमाएको थियो ।