एजेन्सी । विश्व फुटबलको महाकुम्भ मेलाको महा-भिडन्त हुन् अब एक दिन मात्र बाँकी छ । सोही भिडन्तले विश्व फुटबलमा नयाँ च्याम्पियन राष्ट्रको छिनोफानो गर्नेछ । भिडन्तका लागि तयार छन्, फ्रान्स र क्रोएसिया ।
विश्व फुटबलमा दुवै युरोपेली राष्ट्रले फुटबलको महाशक्ति बन्ने दौडमा सहभागी भईरहदाँ बाँकी विश्व भने त्यसको रागमा डुब्नेछ । फ्रान्स र क्रोएसिया दुवैले रुसी विश्वकपको समूह चरणबाटै आफुलाई अब्बल साबित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
दुई टोलीबीच हालसम्म पाँच खेलमा भेट भएको छ । दुई टोलीबीच विश्वकपमा एक भेट भएको छ । मैत्रीपूर्ण र युरोकप गरी चार भेट भएको छ । सन् १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले क्रोएसियालाई २-१ ले हराएको थियो । उक्त विश्वकप फ्रान्सले जितेको थियो भने क्रोएसिया तेस्रो भएको थियो ।
सन् १९९९ मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले ३ – ० को जित निकालेको थियो । त्यस्तै सन् २००० मा भएको मैत्रीपूर्णमा पनि फ्रान्सले २ – ० को जित निकालेको थियो । सन् २००४ को युरोकपमा दुवैले २ – २ गोलको बराबरी खेलेको थियो भने सन् २०११ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरी खेलेका थिए ।
दुवैको विश्व फुटबलमा आफ्नै इतिहास र विरासत छ । त्यही इतिहास, विरासत र रुसमा उनीहरुको प्रर्दशनलाई हामीले केलाउने प्रयास गरेका छौ ।
फ्रान्स
सन् १९१९ अप्रिल ७ बाट फिफाको सदस्य रहदै आएको युरोपेली मुलुक फ्रान्सले एक पटक विश्वकपको उपाधि उचालेको छ । उसले सन् १९९८ मा ब्राजिललाई ३–० ले पराजित गर्दै पहिलो पटक विश्वकपको ट्रफी चुम्न सफल भएको थियो ।
फिफा वरियतामा फ्रान्स अहिले सातौं स्थानमा । सन् १९३० मा उरुग्वेले पहिलो पटक आयोजना गरेका विश्वकपबाटै सहभागिता जनाउदै आइरहेका फ्रान्सले अहिले सम्म १५ पटक विश्वकप खेलिसकेको छ । रुसी विश्वकपको फाईनल यात्रा तय गरेको फ्रान्सको यो तेस्रो फाईनल यात्रा हो । उसले अन्तिम पटक सन् २००६ को विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो ।
फ्रान्सले समूह चरणमा दुईमा जित र एकमा बराबरी खेल्दै समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको थियो ।
समूह चरणको पहिलो खेलमा अष्ट्रेलियालाई २–१ ले हराएको फ्रान्सले दोस्रो खेलमा पेरुलाई २–० ले स्तब्ध बनाएको थियो । तेस्रो तथा समुह चरणको अन्तिम खेलमा डनमार्कसंग गोलरहित बराबरी खेल्दै उसले समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश पाएको थियो ।
समूह चरणमा केहि लडखडाएको फ्रान्सको प्रर्दशन नकआउट चरणमा आएर भने सुधारिएको थियो । अन्तिम १६ को पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले पराजित गर्यो ।
क्वार्टरफाईनलको खेलमा दक्षिण अमेरिकी उरुग्वेविरुद्ध २–० को सहज जित निकालेको फ्रान्सले सेमिफाईनलमा बेल्जियमविरुद्ध १–० को जित निकाल्यो । प्रतियोगिताका प्रत्येक खेलमा आफुलाई परिस्कृत गर्दै आएको फ्रान्सले रक्षापंक्तिलाई बलियो बनाउदै आक्रमणको धारलाई थप मजबुद बनाएको छ ।
युवा स्टार केलियन एमबाप्पे फ्रान्सेली टोलीमा निकै जमेका छन् । स्ट्राईकर एन्टोनी ग्रिजम्यानले समेत सन्तुलित प्रर्दशन गर्दै टोलीलाई समालेका छन् । मिडफिल्डमा खतरनाक देखिएका पउल पोग्बाले लय समाएका छन् । सेन्टर स्ट्राईकर ओलिभर जिरुडले स्कोर नगरेपनि टोलीलाई सहयोग गरिरहेका छन् ।
क्रोएसिया
क्रोएसियाले सन् १९१२ जुन १३ मा फिफाको सदस्यता लिएको थियो । फिफा वरियतामा क्रोएसिया २० औं स्थानमा छ । सन् १९९८ मा पहिलो पटक क्रोएसियाले विश्वकपमा सहभागिता जनाएको थियो ।
पहिलो सहभागितामै क्रोएसियाले तेस्रो स्थान हात पारेको थियो । क्रोएसियाका लागि डारिजो स्श्रालृले सार्वाधिक १ सय ३४ क्याप जितेका छन् । क्रोएसियाका डाभोर सुकेराले सर्वाधिक ४५ गोल गरेका छन् ।
रुसी विश्वकपमा क्रोएसिया समूह डीमा रहेको थियो । समूह चरणमा क्रोएसियाले तीनै खेल जित्यो । समूह चरणमा उसले ३ खेलबाट ९ अंक जोडेको थियो ।
समूह चरणका तीनै खेलमा जित निकाल्ने क्रोएसिया भाग्यमानी टोली हो । उसले समुह चरणमा लोभलाग्दो प्रर्दशन गर्दै रुसी विश्वकपमा लामो यात्रा तय गर्ने संकेत गरिसकेको थियो । विश्वकपको पहिलो खेलमा नाईजेरियालाई २–० ले हराउदै सानदार सुरुवात गरेको क्रोएसियाले दोस्रो खेलमा अर्जेन्टिनालाई ३–० को स्तब्ध बनायो ।
लियोनल मेस्सी प्रेरित अर्जेन्टिनालाई हराउदै क्रोएसियाले रुसी विश्वकपमा आफुलाई समेत दाबेदारको रुपमा प्रस्तुत गरेको थियो । समूह चरणको अन्तिम खेलमा उसले विश्वकपको डेब्यु टोली आईसल्याण्डलाई २–१ ले हराएको थियो ।
समूह चरणमा प्रभावशाली प्रर्दशन गरेको क्रोएसियाले नकआउट चरणमा खेल जित्न टाईब्रेकरकै साहारा लिन पर्यो । अन्तिम १६ को खेलमा डनमार्कसंग निर्धारित समयको खेल १–१ गोलको बराबरी खेल्यो र टाईब्रेकर ३–२ ले आफ्नो पक्षमा पार्यो । त्यसपछि क्वार्टरफाईनलको खेलमा आयोजक रुससंग २–२ गोलको बराबरी खेलेको क्रोएसियाले टाईब्रेकरमा ४–३ ले जित्यो । इङ्ल्याण्डविरुद्धको सेमिफाईनल खेलमा १–० ले पछि परेको स्थितीलाई उल्ट्याउदै क्रोएसियाले २–१ को ऐतिहासिक जित दर्ता गरेको थियो ।
युरोपेली क्लब फुटबलमा चम्किएका खेलाडीको साथ पाएको क्रोएसिया रुसी विश्वकपको सरप्राईज टोली बनेको छ । इभान राकिटिच, लुका मोड्रिच र मारियो मान्डुज्कीको प्रर्दशनमा क्रोएसियाले रुसी विश्वकपमा सुखद अन्त्य गर्ने संकेत गरेको छ ।