काठमाण्डौं । दक्षिण एशियाली तथा आमन्त्रण आईटिएफ तेक्वान्दो प्रतियोगिता काठमाडौंमा भोली सुरु हुदैछ । नेपाल आईटिएफ संघको आयोजनमा संचालन हुने प्रतियोगिता ३ दिन सम्म चल्नेछ ।
प्रतियोगितामा नेपाल लगाएत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तान लगाएतका देशबाट खेलाडी तथा पदाधिकारी काठमाडौंमा आईपुगेका छन् ।
प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाईरिङ, टिम स्पाईरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय आईटिएफ तेक्वान्दो संघका सदस्य समेत रहेका दक्षिण एशियाली आईटिएफ संघका अध्यक्ष डा.राजेन्द्र बलामले जानकारी दिएका छन् ।
प्रतियोगिता संयोजक आईटीएफका अध्यक्ष अन्जन धमलाले प्रतियोगितामा १ सय ५० स्वर्ण, १ सय ५० रजत र ३ सय कास्य पदककालागि ६ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताए । असार ३१ गतेसम्म हुने प्रतियोगिताको अनुमानित खर्च ४० लाख रहेको छ ।