एजेन्सी । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा क्रोएसियासंग हार बेहोर्नु परेको बताएका छन् ।
रुस विश्वकपको दोस्रो सेमिफाइनलमा बुधबार राति इंग्ल्यान्ड क्रोएसियासंग २ – १ ले पराजित भएको थियो । सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा इन्ग्लिश टोली सेमिफाइनलबाटै घर फर्किएको थियो ।
सेमिफाइनलमा पराजित भएपछि कप्तान केनले हारको मुख्य कारण मौकाको फाइदा उठाउन नसक्नु रहेको बताए । 'ठुलो खेलमा सानो अन्तरको नतिजाले फरक पार्छ । जसले अघिल्ला बाटोको अन्त्य वा अघि बढ्ने तय हुन्छ,' कप्तान केनले भने, 'हामीले सुरुवातदेखि अतिरिक्त समयसम्मै उत्कृष्ट खेल्यौ । तर, हामीले केहि मौका गुमायौ जसले हामीलाई अन्त्य गरायो ।'
लुजनिकी स्टेडियममा ट्रिपिएरको गोलबाट इंग्ल्यान्डले सुरुवाती अग्रता बनाएको थियो । तर, इभान पेर्सिक र मारियो मान्डुज्कीले गोल गरेपछि इंग्ल्यान्डको विश्वकप जित्ने सपना सकिएको थियो । खेलमा कप्तान केन पनि केहि गोलको अवसर खेर फालेका थिए ।
कप्तान केनले उपाधि जितेर घर फर्कने लक्ष्य लिएको तर यो हारले निकै पीडा दिएको समेत बताए । उनले भने, 'हाम्रो अद्भुत यात्रा थियो तर हारले निकै पीडा भएको छ । हामी जित्न चाहथ्यौ, यो हाम्रो लागि प्रयाप्त रहेको सोचेका थियौ । तर, हामीलाई प्रयाप्त भएन ।' तर, कप्तान केनले विश्वकपमा इंग्ल्यान्डको यो यात्रा सकारात्मक रहेको बताए ।