एजेन्सी । क्रोएसियाका प्रशिक्षक ज्लाटा डालिकले रुस विश्वकपको फाइनलमा प्रतियोगिता भरकै सबैभन्दा उत्कृष्ट खेल खेल्ने बताएका छन् । विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई हराएपछि प्रशिक्षक डालिकले फ्रान्सविरुद्ध हुने फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् ।
लुजिनिकी रंगशालामा बुधबार राति इंग्ल्यान्डले बनाएको १–० को अग्रता उल्टाएर क्रोएसियाले अतिरिक्त समयमा २–१ को जित निकालेको थियो । जितसंगै क्रोएसियाले आइतबार हुने फाइनलमा फ्रान्ससंगको भेट पक्का गरेको थियो । फ्रान्स बेल्जियमलाई हराएर यसअघि नै फाइनलमा पुगिसकेको छ ।
फाइनल प्रवेश गरेपछि प्रशिक्षक डालिकले भने, 'दुवै टोलीले आफ्नो गुणस्तर देखाईसकेका छन् । हामी बदलाको भावनामा छैनौं । यो फुटबल हो, यो खेल हो । हामी फाइनलमा प्रतियोगिताकै उत्कृष्ट खेल खेल्नमा केन्द्रित छौं ।'
इंग्ल्यान्डलाई हराएसंगै क्रोएसियाले पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउन सफल भयो । क्रोएसियाले यस अघि सन् १९९८ को विश्वकपमा तेस्रो हात पारेको थियो । सेमिफाइनलमा घरेलु टोली फ्रान्ससंगै पराजित हुँदै क्रोएसियाले तेस्रो स्थानको लागि नेदरल्याण्डसंग खेलेको थियो । फ्रान्सले पनि उक्त घरेलु मैदानमा भएको विश्वकप जितेपछि विश्वकप जितेको छैन । क्रोएसियालाई भने विश्वकपको सेमिफाइनलमा स्थान बनाउन २० बर्ष लागेको छ ।
फ्रान्ससंग खेल्नुअघि क्रोएसियाका प्रशिक्षक डालिकले २० बर्षअघिको घटना बिर्सन नहुने समेत बताए । 'सन् १९९८ मा फ्रान्समा थिए, एक समर्थकको रुपमा मैले खेल हेरेको थिए,' प्रशिक्षक डालिकले भने, 'क्रोएसियाका हरेकले सम्झने गर्छन् हामी २-१ ले पराजित भएका थियौं । २० बर्ष अघिको यो घटना चर्चाको बिषय हो ।'
यस्तै प्रशिक्षक डालिकले इन्ग्लिश टोलीविरुद्ध आफ्ना खेलाडी उत्कृष्ट खेलेको र खेलाडीले प्रमाणित गरेको बताए । 'मेरो खेलाडीले आफ्नो क्षमता, उर्जा र शक्ति देखाए । म खेलाडी परिवर्तन गर्न चाहन्थे तर कोहि परिवर्तन हुन् चाहेनन् । उनीहरु भन्थे, म तयार छु, म दौड्न तयार छु,' प्रशिक्षक डालिकले भने ।