काठमाडौं । दक्षिण कोरियामा हुने १२औँ विश्व तेक्वान्दो कल्चरल एक्सो तथा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छन् ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा आयोजित एक कार्यक्रमका बीच १३ सदस्यीय नेपाली टोलीलाई बिदाई संघका अध्यक्ष प्रकाश शम्सेर राणाले बिदाई गरे । रोशन खानको नेतृत्वमा ११ खेलाडीले विभिन्न तौल समूह प्रतिस्पर्धा गर्नेछन् ।
आगामी १२ देखि १७ जुलाईसम्म कोरियाको मुजु शहरमा हुने च्याम्पियनसिपको प्रशिक्षण पनि खानले नै गर्नेछन् । टिमको व्यवस्थापनमा मीरा थापा छिन् । च्याम्पियनसिपको पुरुषतर्फ ६३ केजी तौलसमूहमा दीपेन्द्रबहादुर नेपाली, ६८ केजीमा उज्वल श्रेष्ठ, ४८ केजीमा मोहम्मद उमर खान, ५४ केजीमा अब्बास खान, ४५ केजीमा सहबीरजंग रावल, ५४ केजीमा रोनिस काजी, ४० केजीमा जीप्सन नेपाल र ४५ केजीमा सागर बरालले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।
महिलातर्फ ५३ केजीमा मेलिना गुरुङ मगर, ६७ केजीमा धनमाया सिन्जाली र ६३ केजीमा रेखमाया गुरुङले प्रतिस्पर्धा गर्नेछिन् । ११ जना खेलाडीले नै पुम्सेतर्फ पनि प्रतिस्पर्धा गर्ने टिमका मुख्य प्रशिक्षक खानले जानकारी दिए । प्रतियोगितापछि नेपाली टोली च्याम्पियनसिपमा थाइल्यान्डको बैंककमा आगामी २२ जुलाईमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो सेमीनारमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछन् ।
कोरिया मै हुने तेक्वान्दो कल्चर एक्पोमा सहभागी हुन ९ सदस्यीय राष्ट्रिय तेक्वान्दो संघ– नेपालको टोली बुधबार दक्षिण कोरियाको मुजु प्रस्थान गरेको छ । प्रतियोगितामा मनीष बसेल, जितबहादुर कामी, विशाल पौडेल उपाध्याय, हरि थापा, विनोद श्रेष्ठ र राधाबहादुर तामाङले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा विकास श्रेष्ठ, व्यवस्थापकमा रेशम तामाङ र प्रशिक्षकमा धर्मेन्द्र बानिया अग्रहरी रहेका छन् ।
सोही टोलीले दक्षिण कोरियाको जेजुमा जुलाई १८ देखि २४ तारिखसम्म हुने जेजु कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि सहभागिता जनाउने राष्ट्रिय तेक्वान्दो संघ– नेपालका महासचिव राजकुमार कार्कीले जनाएका छन् । टोलीलाई गृह मन्त्री रामबहादुर थापाले एक कार्यक्रमबीच बिदाइ गरे ।