काठमाडौं । दक्षिण कोरियामा नेपाली तेक्वान्दो टोलीले दुई रजत र दुई कास्य पदक जितेका छन् । दक्षिण कोरियाको पोहाङमा भएको पोहाङ वर्ल्ड युनिभर्सिटी र ओपन तेक्वान्दो प्रतियोगितामा नेपालले चार पटक जितेको हो ।
इन्डोनेसियामा आयोजना हुने एसियन गेम्सको तयारीका लागि कोरियामा रहेका नेपाली टोलीका अनुज पुजारी र अस्मिता खड्काले रजत जितेका हुन् । अनुजले पुरुष ८७ केजी तौलमुनिका मिडिल वेटमा रजत जितेका हुन् । पहिलो खेलमा बाई पाएका अनुजले कोरियाका खेलाडीलाई हराएर फाइनलमा स्थान पक्का गरेका थिए । तर, फाइनलमा भने अनुज श्रीलंकाका खेलाडीसंग पराजित भए ।
महिलातर्फ अस्मिताले ४९ केजीमुनिको फ्लाइ वेटमा नेपाललाई कास्य दिलाईन । बाई पाएर दोस्रो चरणमा स्थान बनाएकी अस्मिताले कोरियाकी खेलाडीलाई हराएर फाइनलमा स्थान पक्का गरेकी थिइन् । तर, अस्मिता पनि फाइनलमा इन्डोनेसियाकी खेलाडीसंग पराजित भइन् ।
प्रतियोगितामै नेपालका सागर गुभाजु र ज्ञानेन्द्र हमालले कास्य जिते । सागरले पुरुषको ६३ केजी तौल समूहमा कास्य जित्दा ज्ञानेन्द्रले ७४ केजीमुनिको लाइट वेटमा कास्य हात पारे ।
नेपालका बाँकी ६ खेलाडीले बिहीबार च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा ५ टिम सम्मिलित ग्रुप फाइटमासमेत नेपालले प्रतिस्पर्धा गर्नेछ । त्यसलगत्तै नेपालले आगामी हप्ता जेजु कोरिया ओपनमा प्रतिस्पर्धा गर्नेछ ।
आगामी अगस्टमा हुने एसियन गेम्सको तयारीको लागि नेपाली तेक्वान्दो टोली कोरियामा रहेका छन् । नेपाली तेक्वान्दो टोली हाल ओलम्पियनद्वय संगिना बैद्य र दीपक विष्टको प्रशिक्षणमा कोरियामा रहेका छन् । नेपाली टोली कोरियाबाटै इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।