एजेन्सी । फेरी एक पटक बेल्जियमको यात्रा सेमिफाईनल भन्दा अघि बढेन । रुसी विश्वकपको सेमिफाईनलमा ‘रेड डेभिल्स’ फ्रान्ससंग पराजित भयो ।
खेलको नतिजा थियो, फ्रान्स एक–बेल्जियम शुन्य । नतिजा निकै निर्मम थियो, कम्तिमा बेल्जियमका लागि ।
बेल्जियमले यसपटक विश्वकपको उपाधिको सपना देखेको थियो । विश्वास गरेको थियो, आफैसंग । बेल्जियका प्रशिक्षकल रोबर्टो मार्टिन्ज हुन् वा अन्य खेलाडी । सबै आत्मविश्वासले भरिएका थिए ।
सबैलाई थाहा छ, बेल्जियम ‘स्वर्णीम पुस्ता’को युगबाट गुज्रिरहेको छ । यो यस्तो पुस्ता हो, जसका खेलाडीले युरोपेली फुटबलमा गज्जवले खेलिरहेका छन् । अझ भनौ ‘राज’ गरेका छन् ।
उसका स्टार खेलाडीले कुनै न कुनै समय प्रिमियर लिगको लण्डन क्लब चेल्सीमा बिताए । कोही त्यही जमे । कोहीले सोही लिगमा आफुलाई अर्को क्लबबाट अब्बल साबित गरे ।
रोमेलु लुकाकुलाई नै हेरौ न । उनी कुनै समय चेल्सीमा थिए । प्रशिक्षक जोसे माउरिन्होले उनलाई अवसर दिन कन्जुस्याई गरे । अनि उनी लागे एर्भटनतिर ।
एर्भटनमा उनले बबालै गरे । प्रिमियर लिगमा गोलको बर्षानै गरे । ठुला ठुला क्लबलाई स्तब्ध बनाए । ‘ओल्डट्राफोड’ क्लबले उनलाई त्यसै छोड्न सकेन । म्यान्चेष्टर युनाईटेडले कीर्तिमान मुल्यमा उनलाई क्लबमा भित्राई हाल्यो ।
त्यही नियती केभिन डी ब्रोयनले भोगे । चेल्सीमा उनी जम्न सकेनन् । अझ भनौ माउरिन्होले उनलाई चिन्न सकेनन् । उनी बुन्डेशलिगा खेल्न जर्मनी लागे । त्यही समय चेल्सी स्टार हजार्डले भनेका थिए, ‘माउरिन्होले ब्रोयनको क्षमता चिन्न सकेनन् ।’
बुन्डेस लिगामा ब्रोयनले अचम्मको प्रर्दशन गरे । कतारी लगानीले हौसिएको प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीले ब्रोयनलाई भित्राउन कुनै कसर बाँकी राखेन । प्रशिक्षक पेप ग्वार्डियलाले उनलाई मौका दिए । अझ भनौ खेल्नलाई ‘स्पेस’ बनाई दिए । उनकै प्रर्दशन प्रेरित सिटीले प्रिमियर लिगको उपाधिनै उचाल्यो । च्याम्पियन्स लिगमा समेत आफुलाई अब्बल साबित गर्यो । उनी अहिले सिटीका मुख्य खेलाडी बनेर बसेका छन् ।
अब कुरा इडेन हजार्ड र थिवाउट काउट्वाको ।
दुवै प्रिमियर लिग क्लब चेल्सीमा खेल्छन् । दुवै लण्डन क्लबका मेरुदण्ड भन्दा हुन्छ । दुवै खेलाडीलाई अनुबन्धन गर्न युरोपका ठुला क्लब लण्डनमा डेरा लिएर बसेका छन् ।
रुसी विश्वकपमा दुवैले उत्कृष्ट प्रर्दशन गरे । ब्राजिलविरुद्धको खेलमा काउटवाको प्रर्दशन अनि प्लेमेकर हजार्डको प्रर्दशनले सबैलाई लोभ्याएको थियो ।
अनि युरोपका ठुला क्लबबाट व्यवसायीक फुटबल खेल्ने बेल्जियमको टोलीबाट विश्व फुटबलले ठुलो अपेक्षा गरेको थियो ।
तर ‘स्वर्णीम पुस्ता’को उपमा पाएको बेल्जियम सेमिफाईनल भन्दा अघि बढ्न सकेन । फ्रान्ससंग आत्मसमर्पण गर्दै विश्वकपको यात्रा टुङ्गयाउने बाध्य भयो ।
आखिर किन हार्यो त बेल्जियम ?
खेल विश्लेषक भन्छन्, नकआउट चरणमा जापान र ब्राजिलविरुद्ध गरेको प्रर्दशन बेल्जियमले सेमिफाईनलमा दोह्र्याउन सकेन ।
अघिल्ला खेलमा उम्दा देखिएका रोमेलु लुकाकु, केभिन डी ब्रोयन सेमिफाईनलको खेलमा चल्न सकेनन् ।
नेपाली राष्ट्रिय टिमका पुर्व प्रशिक्षक राजुकाजी शाक्यले राम्रो खेलका बाबजुत बेल्जियमले फ्रान्सका खेलाडीलाई ‘मार्किङ’ गर्न नसकेको बताउछन् ।
‘बेल्जियमले एउटा गल्ती गर्यो । त्यही गल्तीमा गोल खायो ।’ उनी भन्छन्, ‘बेल्जियमले राम्रो खेलेको थियो । गोलकिपरले समेत राम्रो बचाउ गर्यो तर खेलाडीको मार्किङमा बेल्जियम चुक्न पुग्यो ।’
पहिलो हाफमा बेल्जियमले बल पोजिसन राख्दै फ्रान्सविरुद्ध अवसर समेत सिर्जना गरेको थियो । तर बेल्जियमले स्कोर गर्न भने सकेन ।
फ्रान्सले प्राप्त अवसरमा काउन्टर अट्याक गर्दै बेल्जियमको डिफेन्स लाईनलाई दबाबमा राख्ने काम गर्यो ।
प्रशिक्षक शाक्य भन्छन्, ‘बेल्जियमका स्टार खेलाडी हराएको जस्तो देखियो । मिडफिल्डमा हजार्ड बाहेक अरु चल्न नसकेपछि फ्रान्सलाई नतिजा सुम्पिन बाध्य भयो ।’