एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा वेष्ट इण्डिजले न्युजिल्याण्डलाई पराजित गरेको छ ।
ब्रिस्टोलमा मंगलबार भएको खेलमा वेष्ट इण्डिजले न्युजिल्याण्डलाई ९१ रनले पराजित गरेको हो ।
वेष्ट इण्डिजले दिएको ४२२ रनको फराकिलो लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४७ ओभर २ बलमा अलआउट हुँदै ३३० रन मात्र बनाउन सक्यो ।
न्युजिल्याण्डका लागि टम ब्लुन्डेलले १०६ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान केन विलियमसनले ८५ तथा इश सोधीले ३९ रन बनाए ।
वेष्ट इण्डिजका कार्लोस ब्रैथवेटले ३ तथा फाबियन एलेनले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ४९ ओभर २ बलमा अलआउट हुँदै ४२१ रन बनाएको थियो ।
वेष्ट इण्डिजका लागि साई होपले १०१ रनको शतकीय इनिङ्स खेले । यस्तै आन्द्रे रसेलले ५४ रन र इभिन लेविसको ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
क्रिस गेल ३६ रनमा आउट भए । न्युजिल्याण्डका लागि ट्रेण्ड बोल्टले ४ विकेट लिए । यस्तै म्याट हेनरीले २ विकेट लिए ।
इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको तयारीका लागि दुवै राष्ट्रले अभ्यास खेलेका हुन् । विश्वकप क्रिकेट मे ३० बाट सुरु हुनेछ ।