काठमाडौँ। कप्तान सञ्जु सामसनको आक्रामक ब्याटिङसँगै शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।
शनिबार राति सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो। लखनउले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै १९९ रन बनायो।
राजस्थानका कप्तान सञ्जुले अविजित रहँदै सर्वाधिक ७१ रन बनाए। ३३ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। जोश बटलर ३४, यशस्वी जायसवाल २४ र रियान पराग १४ रनमा आउट हुँदा ध्रुव जुरेल ५२ रनमा अविजित रहे।
लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राको नाममा १/१ विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। कप्तान केएल राहुलले सर्वाधिक ७६ रन बनाए। ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे।
यस्तै, दीपक हुड्डाले ३१ बलमा ७ चौकासहित ५० रन बनाए। निकोलस पूरन ११ रनमा आउट हुँदा आयुष बदोनी १८ र क्रुणाल पाड्या १५ रनमा अविजित रहे।
राजस्थानका सन्दीप शर्माले सर्वाधिक २ विकेट लिए। ट्रेन्ट बोल्ड, आवेश खान र रवि अश्विनको नाममा १/१ विकेट रह्यो।
जितसँगै शीर्ष स्थानको राजस्थानले ९ खेलबाट १४ अंक जोडेको छ। पराजित लखनउ समान खेलबाट १० अंक जोड्दै चौथो स्थानमा यथावत् छ।