काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेको प्रदेश नम्बर ३ ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रदेश ३ ले दोस्रो जित निकालेको हो ।
गण्डकी प्रदेशले दिएको १०९ रनको सामान्य लक्ष्य प्रदेश ३ ले २२ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश ३ लाई जित दिलाउन आदील खानले अविजित ३८ रन जोडे । यस्तै इशान पाण्डेले अविजित २६ तथा रित गौतमले २० रन बनाए । गण्डकीका किशोर महतोले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ३० ओभर १ बलमा अलआउट हुँदै १०८ रन बनाएको थियो । गण्डकीका लागि सुमा घिमिरेले ३४ तथा आकाश थापाले २४ रन जोडे ।
प्रदेश ३ का लागि कप्तान पारस खड्का र सुर्य तामाङले ४/४ विकेट लिए । नन्दन कुमार यादबले २ विकेट लिए ।
जितसंगै समूह 'ए' को प्रदेश ३ ले ३ खेलबाट ४ अंक जोडेको छ । र, प्रदेश ३ शीर्ष स्थानमा उक्लिएको छ । ४ अंक जोडेको एपीएफ यस समूहको दोस्रो स्थानमा छ । अंकविहीन गण्डकी चौंथो स्थानमा छ ।