काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङसहित ७ जना पदाधिकारी इङ्ल्यान्ड ‘सी’ विरुद्ध हुने मैत्रीपूर्ण खेल हेर्न जाने भएका छन्।
एन्फाका अनुसार अध्यक्ष नेम्वाङसहित उपाध्यक्ष दीपक खतिवडा, सह महासचिव दामोदर भट्टराई, केन्द्रीय सदस्यहरू महेन्द्र क्षेत्री, विकास नारायण श्रेष्ठ, पुरुषोत्तम थापामगर र मनिष जोशी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
उपाध्यक्ष खतिवडा र केन्द्रीय सदस्य क्षेत्री एक महिनाको अन्तरालमै दोहोराएर विदेश भ्रमणमा जान लागेका हुन्।
गत चैत २ गते फिफा विश्वकप तथा एएफसी एशियन कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणमा बहराइनसँग दुई खेल खेल्नुअघि मलेसियासँग भएको मैत्रीपूर्ण खेल हेर्न उनीहरू त्यहाँ पुगेका थिए।
त्यतिखेर खतिवडालाई हेड अफ डेलिगेट बनाइएको थियो। क्षेत्री भने विनाभूमीकामा त्यसतर्फ प्रस्थान गरेका थिए।
यसपटक जोशीलाई हेड अफ डेलिगेट र थापालाई अफिसियलको रूपमा बेलायत लान लागिएको हो। अन्यको भने भूमिका खुलाइएको छैन।
नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक इङ्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्न लागेको हो। अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिख सोमबार दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउने छ।
नेपालसँग प्रतिस्पर्धा गर्न लागेको इङ्ल्यान्ड ‘सी’ राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो। यो टोलीले इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ।
दुई देशबीच हुने खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले एन्फा र इङ्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौता गरिसकेको छ।