काठमाडौँ। जयकुमार नाथ शाह यू-१६ मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिता बैशाख १९ गतेदेखि शुरू हुने भएको छ। आयोजक काठमाडौँ जिल्ला क्रिकेट संघले सोमबार प्रतियोगिता बैशाख १९ देखि ३० गतेसम्म हुने जानकारी दिएको हो।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ।
समूह 'ए' मा रेडियन्ट रिडर्स एकेडेमी, संस्कृति इन्टरनेसनल स्कुल, सैनिक आवासीय महाविद्यालय र त्रियोग हाइ स्कुल रहेका छन्। समूह 'बी' मा ग्यालेक्सी पब्लिक स्कुल, गेटवे एकेडेमी, आलोक विद्याश्रम स्कुल र डीएभी स्कुल रहेका छन्।
समूह 'सी' मा केएमसी स्कुल, जेम्स स्कुल, अपि स्कुल र एन्जल हर्ट्स एकेडेमी स्कुल रहेका छन्। समूह 'डी' मा रत्नराज्य स्कुल, मोक्षदा स्कुल, नेक्सस इन्टरनेसल एकेडेमी र एलआरआई स्कुल रहेका छन्।
प्रतियोगिताको विजेता टोलीलाई १ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। उपविजेतालाई ७५ हजार रुपैयाँ प्रदान गरिनेछ।
उत्कृष्ट ब्याटर, बलर र इमर्जिङ खेलाडीलाई ५/५ हजार पुरस्कार प्रदान गरिनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ र उपहार प्रदान गरिने आयोजकले जनाएको छ।
मूलपानीको तल्लो र माथिल्लो मैदानमा २७ खेल हुने छन्। प्रतियोगितामा प्रत्येक खेलको प्लेअर अफ दि म्याचलाई १ हजार तथा उपहार दिइनेछ। प्लेअर अफ दि म्याचको पुरस्कार २७ हजार रुपैयाँ पुरस्कार रहेको छ।