काठमाडौँ। क्रिकेट दक्षिण अफ्रिका (सीएसए)ले कागिसो रबाडालाई मात्रै एक मात्र अश्वेत खेलाडीको रूपमा आईसीसी टी–२० विश्वकप टोली खेल्ने टोलीमा समावेश गरेको भन्दै आलोचना भएको छ।
दक्षिण अफ्रिकाको सम्भावित टोलीमा रबाडासहित ६ जना अश्वेत खेलाडी रहेका थिए। तर, टी–२० विश्वकपका लागि छनोट भएको टोलीमा रबाडा मात्र एक मात्र अफ्रिकी अश्वेत खेलाडीको रूपमा छनोट भएका छन्।
लुंगी एनगिडी पनि एक अश्वेत अफ्रिकी खेलाडी हुन्। उनी ‘रिजर्भ’को रूपमा टोलीमा छन्। तर, उनी मुख्य टोलीमा हुने छैनन्। सीएसएले आफ्नो लक्ष्य पूरा नगरेको भन्दै आलोचना हुँदै आएको छ।
दक्षिण अफ्रिकाका पूर्व खेलकुदमन्त्री फिकिले मबालुलाले टोलीमा एक मात्र अश्वेत खेलाडी राखिनु देशमा परिवर्तन ल्याउने लक्ष्यविपरीत रहेको बताए।
‘आगामी टी–२० विश्वकपमा दक्षिण अफ्रिकी टोलीमा एक जना मात्र अफ्रिकी खेलाडी छनोट भएका छन् । यो निश्चित रूपमा परिवर्तन ल्याउने लक्ष्यविपरीत छ। यसमा दक्षिण अफ्रिकी जनताको उचित प्रतिनिधित्व छैन,’ उनले एक्समा लेखेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का पूर्वअध्यक्ष रे मालीले रंगको बिषयले गर्दा दक्षिण अफ्रिका क्रिकेटमा पछि परेको बताए।
‘मलाई लाग्छ, धेरै कुरामा अघि छौँ। हामी अगाडि बढ्नुको साटो क्रिकेटमा एक कदम पछि हट्दै छौँ,’ एसएबीसी स्पोर्ट्सँग कुरा गर्दै भने, ‘दक्षिण अफ्रिकी क्रिकेट टोलीमा हामी किन धेरै अश्वेत खेलाडी राख्न सक्दैनौँ भन्ने कुरा मैले बुझ्न सकिरहेको छैन।’
हाल, सीएसएसँग छनोट समिति छैन। त्यसैले टोलीको छनोट मुख्य प्रशिक्षक शुक्री कोनराड (टेस्ट प्रशिक्षक) र रोब वाल्टर (सेतो बलका प्रशिक्षक)ले गरिरहेका छन्।
वाल्टरले अमेरिका र वेस्ट इन्डिजमा हुने प्रतियोगिताका लागि गरिएको छनोटको बचाउ गरेका छन्। उनले घरेलु क्रिकेटमा गरेको प्रदर्शनको आधारमा टोली निर्माण गरेको प्रतिकृया दिए।