काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)मा ‘सुपर सन्डे’ को दोस्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको छ।
यो जितसँगै चेन्नई ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ। मुम्बईको टोली आठौँ स्थानमा छ। यो खेलमा भरपुर मनोरञ्जन थियो। एकातिर महेन्द्रसिंह धोनीले लगातार तीन छक्का प्रहार गरे भने अर्कोतर्फ ‘मुम्बई चा राजा’ भनेर चिनिने रोहित शर्माले अविजित शतक प्रहार गरे।
यो इनिङ्समा उनले धेरै कीर्तिमान पनि बनाए। तर, उनले आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। रोहितले ६३ बलमा ११ चौका र ५ छक्का प्रहार गर्दै १०५ रनको इनिङ्स खेले। त्यसक्रममा तेस्रो छक्का प्रहार गर्दै उनले टी–२० क्रिकेटमा ५०० छक्का पनि पूरा गरे।
टी–२० क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने उनी भारतका पहिलो र विश्वका पाँचौं खेलाडी बनेका छन्। रोहितको नाममा हाल टी–२० का ४१९ इनिङ्समा ५०२ छक्का छ।
जसमध्ये उनले आईपीएलमा २७२ छक्का प्रहार गरेका छन्। उनीभन्दा अगाडि क्रिस गेल, किरोन पोलार्ड, आन्द्रे रसेल र कोलिन मुनरो छन्। वेस्ट इन्डिजका गेलको नाममा ४५५ टी–२० इनिङ्समा १०५६ छक्का छ।
यस्तै, वेस्ट इन्डिजकै पोलार्डले ५८६ इनिङ्समा ८६० छक्का प्रहार गरेका छन्। आन्द्रे रसेलले ४२० इनिङ्समा ६७८ र न्यूजिल्यान्डका मुनरोले ४०९ इनिङ्समा ५४८ छक्का प्रहार गरेका छन्।
आईपीएलमा रोहितको यो दोस्रो शतक हो। योसँगै उनले वानखेडेमा आईपीएलमा आफ्नो पहिलो शतक बनाए। यसअघि सन् २०१२ मा हिटम्यानले कोलकाता नाइट राइडर्सविरुद्ध इडेन गार्डेनमा १०९ रनको अविजित इनिङ्स खेलेका थिए।
मुम्बई इन्डियन्सबाट आईपीएलमा यो सातौं शतक हो। रोहित मुम्बईका एकमात्र ब्याट्सम्यान हुन्, जसले आईपीएलमा एकभन्दा बढी शतक प्रहार गरेका छन्। उनीबाहेक सनथ जयसूर्या, सचिन तेन्दुलकर, लेन्डल सिमन्स र क्यामरुन ग्रीनले १/१ शतक प्रहार गरेका छन्।
तर, रोहितको इनिङ्सले मुम्बईलाई मद्दत गर्न सकेन र टोलीले खेलमा हार बेहोर्यो। आईपीएलमा कुनै खेलाडीले असफल रन चेजमा शतक प्रहार गरेको यो तेस्रो पटक हो। यसअघि सन् २०१० मा राजस्थान रोयल्सबाट खेलेका युसुफ पठानले मुम्बईविरुद्ध ब्रेबोर्न स्टेडियममा ३७ बलमा १०० रनको इनिङ्स खेलेका थिए।
तर, उनको राजस्थान रोयल्सले हार बेहोरेको थियो। त्यस्तै, २०२१ मा राजस्थान रोयल्सका सञ्जु सामसनले पञ्जाब किंग्सविरुद्ध वानखेडेमा ६३ बलमा ११९ रनको इनिङ्स खेलेका थिए। यो खेलमा पनि सञ्जुको टोली पराजित भएको थियो।