स्याङ्जा। ज्ञानोदय र पर्वत इङ्लिस बोर्डिङ स्कुल आठौँ अरहन्त मेमोरियल कपको सेमिफाइनलमा पुगेका छन्।
वालिङ खेल मैदानमा आइतबार सम्पन्न खेलमा पिस जोन वालिङलाई हराउँदै ज्ञानोदय र भूपू सैनिक बेयरघारीलाई हराउँदै पर्वत अन्तिम चारमा पुगेका हुन्।
पोल ‘ए’ मा रहेको ज्ञानोदयले पिस जोनलाई ४-१ गोल अन्तरले पराजित गर्यो। ज्ञानोदयका लागि संजोग रानाले २ तथा अर्जुन आले र तेजबहादुर गुरुङले १/१ गोल गरे ।
पिस जोन वालिङका लागि सिद्धार्थ भुसालले पेनाल्टीमा एक गोल फर्काए। यस समूहबाट पिस जोन पनि सेमिफाइनल पुगिसकेको छ। पोल ‘डी’ मा रहेको पर्वतले भूपू सैनिकलाई २-० गोल अन्तरले पराजित गर्यो। पर्वतका लागि दुवै गोल श्याम परियारले गरे।
यस्तै, पोल ‘बी’रहेको नेपाल आदर्श वालिङले आर्माडी इङ्लिस बोर्डिङ स्कुल रामबाछालाई २-० गोलले पराजित गर्यो। नेपाल आदर्शका लागि समिर केसी र आयुष्मान रानाले गोल गरे। यस समूहबाट साइन भिलेज वालिङ सेमिफाइनल पुगिसकेको छ