इलाम। दोस्रो संस्करणको माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका भिड्ने भएका छन्।
माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषद्को आयोजनामा बैशाख २५ गतेबाट हुने प्रतियोगितामा इलामका १० पालिकाको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २ लाख ११ हजार १११ र उपविजेताले १ लाख २१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ।
९ ए साइडमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमले आफ्नो पालिकाभित्रका खेलाडीहरू मात्र समावेश गर्न पाउने आयोजक समितिका सचिव महेश सापकोटाले जानकारी दिए।
सहभागी टिमले पालिकाभन्दा बाहिरका खेलाडीलाई समावेश गरेको पुष्टि भएका स्वतः टिम खारेज हुने उनले बताए। प्रतियोगिताअघि परिषद्ले पालिकास्तरीय टिम छनोटका लागि बैशाख १९ देखि २१ गतेसम्म वडास्तरीय प्रतियोगिता सञ्चालन गरेको थियो।
वडा कपमा वडा नम्बर १ ले ३ लाई हराउँदै उपाधि जितेको थियो। परिषद्ले गत वर्षबाट पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरेको हो। पहिलो संस्करणमा फाकफोकथुम गाउँपालिकालाई टाइ ब्रेकरमा हराउँदै इलाम नगरपालिकाले उपाधि जितेको थियो।