एजेन्सी । इंग्ल्याण्डमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि घरेलु टोलीले जित्यो ।
गत आईतबार भएको न्युजिल्याण्डलाई बाउन्ड्रीको आधारमा पराजित गर्दै इंग्ल्याण्डले पहिलो पटक विश्वकप उपाधि जितेको थियो ।
लर्ड्समा भएको फाइनल सुपर ओभरमा गएको थियो । तर, सुपर ओभरमा समेत स्कोर बराबर भएपछि बाउन्ड्रीको आधारमा इंग्ल्याण्डले जित निकालेको थियो ।
तर, पछिल्लो समय आईसीसीको बाउन्ड्री नियमले चौतर्फी आलोचना व्यहोरीरहेको छ । क्रिकेट हस्तीहरुले समेत उक्त खेलको निर्णय दोस्रो सुपर ओभरबाट गरिनु पर्ने बताउन थालेका छन् ।
भारतीय क्रिकेट लिजेण्ड सचिन तेन्दुलकरले इंग्ल्याण्ड र न्युजिल्याण्डबीचको विजेता दोस्रो सुपर ओभरबाट टुंगो लगाउनु पर्ने बताएका छन् ।
सचिनले फाइनल मात्र नभएर आउने खेलमा पनि दोस्रो सुपर ओभरको नियम बनाउनु पर्नेमा जोड दिएका छन् ।
'मलाई लाग्छ विजेताको फैसला दोस्रो सुपर ओभरबाट गरिनु पर्थ्यो । बाउन्ड्रीको आधारमा हुनु हुँदैन । यदी सुपर ओभर बराबरी भए फेरी अर्को सुपर ओभर खेलाउनु पर्छ,' सचिनले भने, 'फाइनल मात्र हैन हरेक खेलमा यहि नियम हुँदा राम्रो हुन्छ ।'