काठमाडौं । विभागीय नेपाल पुलिस र होङ्गवान्जी न्यू डायमन्ड एकेडेमी राजधानीमा जारी केएनपी राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लगनखेलस्थित आर्मी कर्भडहलमा आइतबार पश्चिमाञ्चल भलिबल एसोसियसनलाई पराजित गर्दै पुलिस समूह 'बी' बाट समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।
पुलिसले पश्चिमाञ्चलमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । पुलिसले पश्चिमाञ्चलमाथि २५–१६, २५–८ र २५–२२ को सेटमा जित निकाल्यो । यसअघि शनिबार भएको खेलमा पुलिसले न्यू डायमन्ड एकेडेमीलाई पराजित गरेको थियो ।
यस्तै समूह 'बी' बाट एक खेल जित र एक खेलमा हार व्यहोरेको न्यु डायमन्ड समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्याे ।
समूह 'बी' बाट पुलिसको ६ अंक र न्यू डायमन्डको ३ अंक जोड्यो । पश्चिमाञ्चलले अंक जोड्न सकेन ।
यस्तै आइतबार भएको पहिलो खेलमा एपीएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्याे । पराजित बाबजुद पनि आर्मी सेमिफाइनल प्रवेश गर्यो । उसको दुई खेलबाट ४ अंक भएको छ ।
एपीएफलाई आर्मीले कडा टक्कर दिएको थियो । पहिलो सेट २५–१४ ले जितेको एपीएफले दोस्रो सेट २२–२५ ले गुमाएको हो । यसपछि खेल लम्बियो । तेस्रो सेट एपीएफले २५–२३ ले आफ्नो पक्षमा पार्याे । फेरि आर्मीले चौथो सेट २०–२५ ले जितेसँगै खेल पाचौँ सेटमा प्रवेश गरेको थियो । अन्तिम सेटमा भने एपीएफले १५–१३ ले बाजी मार्याे ।
यस्तै एपीएफले दोस्रो खेलमा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–१२ र २५–१३ को सोझो सेटमा हरायो । र, एपीएफ पनि सेमिफाइनलमा पुग्यो ।
अब सेमिफाइनमा एपिएफ र न्यु डायमण्ड तथा पुलिस र आर्मीबीच खेल हुनेछ ।