गोरखा। गण्डकीस्तरीय प्रदेश पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि नवलपुरले जितेको छ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका बुधबार सम्पन्न फाइनल खेलमा स्याङ्जालाई ३-२ सेटले पराजित गर्दै नवलपुर उपाधि जित्न सफल भएको हो।
प्रतिस्पर्धात्मक खेलको पहिलो सेट स्याङ्जाले २५-२१ ले जितेको थियो। दोस्रो सेट पनि स्याङ्जाले २५-१७ ले जित्न सफल भयो। तर, त्यसपछिका सबै सेट नवलपुरले जित्यो।
तेस्रो सेट २५-१६ ले आफ्नो बनाएको नवलपुरले चौथो सेट २५-२१ ले आफ्नो बनायो। अन्तिम तथा निर्णायक सेट १५-११ ले आफ्नो बनाउँदै नवलपुर उपाधि जित्न सफल भयो।
पहिलो सेमिफाइनलमा नवलपुरले तनहुँलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। यस्तै, दोस्रो सेमिफाइनलमा म्याग्दीलाई ३-१ को सेटले हराउँदै स्याङ्जाले नवलपुरसँगको उपाधि भिडन्त पक्का गरेको थियो।
यस्तै, तनहुँलाई ३-२ को सेटमा पराजित गर्दै म्याग्दी तेस्रो भयो। पहिलो सेट २५-२१ ले जितेको म्याग्दीले त्यसपछिका दुई सेट १९-२५ र १९-२५ ले गुमाउन पुगेको थियो। तर, त्यसपछिका दुई सेट २५-२३ र १५-१० ले जित्दै म्याग्दी तेस्रो हुन सफल भयो।
उपाधिसँगै नवलपुरले एक लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता स्याङ्जाले भने ७५ हजारमा चित्त बुझायो। तेस्रो भएको म्याग्दीले भने ५० हजार रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नवलपुरका हिमाल सुनारी भए। यस्तै, सर्वोत्कृष्ट स्पाइकर स्याङ्जाका सञ्जुविक्रम शाह भए। सर्वोत्कृष्ट सेटर नवलपुरका दानबहादुर गाहा, सर्वोत्कृष्ट सर्भर म्याग्दीका देवेन्द्र बूढा, सर्वोत्कृष्ट बल्कर नवलपुरका सरोज वर्देवा, सर्वोत्कृष्ट डिफेन्डर स्याङ्जाका राजन दर्लामी र उत्कृष्ट प्रशिक्षक नवलपुरका रामनारायण महतो भए। उनीहरूले समान ५ हजार प्राप्त गरे।