पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको खोखो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा महिला पुरुष दुवैको समूह चरणको अन्तिम खेल भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।
सेमिफाइनल अन्तर्गत सेमिफाइनलका ४ खेल हुनेछन् । जसमा पुरुषतर्फ ग्रुप ‘ए’बाट समूह विजेता बन्दै विभागीय टिम नेपाल आर्मी र उपविजेता बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् ।
त्यस्तै, ग्रुप ‘बि’बाट समूह विजेताका रुपमा लुम्बिनी प्रदेश र उपविजेताका रुपमा प्रदेश नं. १ सेमिफाइनलमा प्रवेश गरेका छन् । ४ वटै टिम बुधबार पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा फाइनल प्रवेशका लागि भिड्ने भएका छन् ।
राउन्ड रोबिन आधारमा भइरहेको प्रतियोगिताको सेमिफाइनलअन्तर्गत बुधबार बिहान समूह ए का विजेता आर्मी र ग्रुप बि का उपविजेता प्रदेश नं १ र दोस्रो खेलमा समूह बि का उपविजेता र समूह ए का विजेता पुरुष टोलीबीच हुनेछ ।
त्यस्तै, महिलातर्फ ग्रप ए बाट समूह विजेता बन्दै नेपाल आर्मी र उपविजेता बन्दै प्रदेश १ सेमिफाइनल यात्रा तय गरेका छन् । समूह बि बाट समूह विजेताका रुपमा लुम्बिनी प्रदेश र उपविजेताका रुपमा सुदूरपश्चिमको महिला टिम सेमिफाइनल पुगेका छन् ।
असोज ३० गतेबाट सुरु भएको खोखो प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए । राउन्ड रोबिन लिग आधारमा भएको खोखो खेल कात्तिक ३ गते सकिनेछ ।