काठमाडौं । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भइरहेको प्रथम बाग्मती प्रदेश खेलकुदअन्तर्गत कराते प्रतियोगितामा सहभागी हुन नयाँ बानेश्वरको देउराली डोजाको खेलाडीसहित टोली आइतबार सिन्धुपाल्चोकको चौतारा प्रस्थान गरेको छ ।
करातेमा सहभागी हुने काठमाडौंको टोलीमा चार खेलाडी देउरालीका छन् । पुरुष ५० केजीमुनि करण थारु र ६० केजीमुनि रिकेश भण्डारी तथा महिला ६८ केजीमुनि आशिका राई र ६८ केजीमाथि महिमा राईले प्रतिस्पर्धा गर्ने छन् । व्यवस्थापकमा अमिर राना छन् ।
टोलीलाई देउरालीका अध्यक्ष राजेश जोशी, अखिल नेपाल खेलकुद महासंघका सह–अध्यक्ष जनक गड्तौला र भीमसेनगोल माविका प्रिन्सिपल गणेश राईले एक कार्यक्रमबीच बिदाइ गरे । सोही अवसरमा व्यवस्थापक रानाले खेलाडीलाई प्रायोजन गरेको डब्लुकेएफको स्वीकृति प्राप्त एसएमएआईको करिब ४० हजार रुपैयाँको खेल सामाग्री टोलीलाई वितरण गरिएको थियो । कराते चैत ७ देखि ९ गतेसम्म चल्ने छ ।