काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालले कुवेत र मलेसियासंग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।
मुख्य प्रशिक्षकमा जोहान कालिनको आगमनपछि एन्फाले दुई मैत्रीपूर्ण खेल खेलाउन लागेको हो । नेपाली टोलीका व्यवस्थापक दावा लामाले मैत्रीपूर्ण खेलका लागि टोलीको प्रशिक्षण सुरु भईसकेको बताए ।
‘मैत्रीपूर्णको लागि आज पहिलो दिन हामीले प्रशिक्षण गरायौँ । १२–१३ जना खेलाडीको उपस्थिति थियो,' लामाले खेलपाटीसंग भने ।
नेपालले कुवेतसंग आगामी मार्च २१ मा उसैको मैदानमा खेल्नेछ । यस्तै २६ मार्चमा मलेसियासंग नेपालले मलेसियामै खेल्नेछ ।
मुख्य प्रशिक्षक कालिनको लागि यस मैत्रीपूर्ण खेल परिक्षणको रुपमा रहने छ ।
‘यो मेरो लागि पहिलो कार्य हो । दुई खेलले मेरो र मेरो टिमको लागि अनुभव मिल्नेछ । टिममा यू–२३ टिम पनि रहनेछ । हाम्रो लागि दुवै खेल कठिन हुनेछ ।’ कालिनले भने ।