काठमाडौं । बोरुसिया डर्टमन्डका जाडोन सान्चो च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा चर्चामा रहे।
म्यानचेस्टर युनाइटेडबाट लोनमा जर्मनी पुगेका सान्चोले पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डरहरूलाई पटकपटक जिल्याउँदा डर्टमन्ड १-० को जित निकाल्न सफल भएको हो ।
ठीक यहीबेला युनाइटेडका फ्यान भने आफ्ना फरवार्ड उत्कृष्ट प्रदर्शन गर्न नसकेकोमा झनै आलोचित बनेका छन् । डर्टमन्डमा २४ बर्षिय सान्चोले प्रिमियर लिगका ५८ खेलमा गरेको ड्रिबलभन्दा उत्कृष्ट प्रदर्शन गरि आफ्ना समर्थकको मन र खेल जित्न सफल भएका हुन् । उनलाई ७३ मिलियन पाउण्डमा युनाईटेडले सन् २०२१ मा आफ्नो क्लबमा अनुवन्ध गरेका थिए ।
बुन्डेसलिगाबाट प्रिमियर लिग पुग्दा सान्चोको खुबै चर्चा भएको थियो । तर, उनले युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा उच्चस्तरको प्रदर्शन गर्न सकेनन्, माथिल्लो तहमा एकरुपको खेल देखाउन सकेनन्, लय समात्न संघर्ष गरिरहे । ८२ खेलमा १२ गोल मात्र गरेपछि उनको म्यानेजर एरिक टेन हागसँग सम्बन्ध नै चिसियो र युनाइटेडको टिममा पर्न पनि छाडे ।
डर्टमन्ड समर्थकले गत जनवरीमा फर्केयता सान्चोलाई निक्कै फरक खेलाडी पाएका छन् र उनीहरु सान्चोले आफ्नो टिमलाई वेम्बली स्टेडियममा रियल म्याड्रिड वा बायर्न म्युनिखमध्ये कुनैको सामना गर्ने हैसियतमा च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन मद्दत गर्न सक्छन् भन्नेमा बिश्वस्त छन् ।
स्कटल्याण्डका पूर्वस्ट्राइकर एली म्याकोइस्ट भन्छन्, “सान्चो एकदमै फरक खेलाडी हुन् । शारीरिक हाउभाउले नै उनी युनाइटेडका खेलाडी हुन् भन्ने प्रस्ट पार्छ । उनि आफु अनुकुल वातावरणमा छन्, जसले गर्दा उनी निकै विश्वस्त देखिन्छन् ।”
सान्चोले किलियन एम्बाप्पेको टिम पीएसजीविरुद्ध १२ पल्ट सफलतापूर्वक ड्रिबल गरे, जुन च्याम्पियन्स लिग सेमिफाइनलमा १६ वर्षयताकै सबभन्दा बढी ड्रिबलको रेकर्ड नै हो । सबभन्दा बढी ड्रिबलको रेकर्ड लियोनल मेसीको नाममा छ । उनले म्यानचेटर युनाइटेडविरुद्ध २००८ मा १६ पल्ट ड्रिबल गरेका थिए ।
युनाइटेडमा पूर्वडिफेन्डर रियो फर्डिनान्डले भने, “सान्चोले खेलाडीहरुलाई नचाइरहे, मजाक नै गरिदिए । उनलाई डर्टमन्ड गएपछि यस्तो देखेका थिएनौं ।” युनाइटेडका पूर्वमिडफिल्डर ओवेन हारग्रिभ्सले भने, “सान्चो अपमानित थिए । अहिले उनले आफूमा भएको प्रतिभा देखाइदिए ।”
अहिलेको प्रदर्शनबाट डर्टमन्डले अर्को सिजन सान्चोलाई राख्नेमा कुनै शंका छैन । तर, स्थायी रुपमा सरुवा हुन्छन् वा फेरि लोनमै रहन्छन् भन्ने कुराले फरक पार्नसक्छ । डर्टमन्डले उनलाई युनाइटेडले जत्तिकै तलब पनि दिने छैन ।
उनी युनाइटेड फर्किए भनेपनि त्यहाँ टेन हाग रहेसम्म उनको भविष्य छैन । तर, टेन हाग ले निरन्तर नरहन पनि सक्छ र यस्तोमा सान्चोको युनाइटेड फर्किने संभावना हुनेछ वा अर्को सिजन जहाँ पनि खेल्नसक्छन् ।