काठमाडौँ। अस्ट्रेलियाले आईसीसीको टेस्ट वरीयतामा भारतलाई पछि पारेको छ। तर, भारतले एक दिवसीय र टी–२० आई वरीयतामा आफ्नो शीर्ष स्थान कायमै राखेको छ।
यस चक्रमा मे २०२१ पछि खेलेका खेललाई मात्रै वरीयता निर्धारणको आधार बनाइएको छ। वरीयतामा शीर्ष स्थानमा रहेको अस्ट्रेलियाको खातामा १२४ रेटिङ अंक छ। भारतको ११८ रेटिङ अंक छ। योसँगै वरीयतामा तेस्रो स्थानमा रहेको इङ्ग्ल्यान्डको खातामा १०५ रेटिङ अंक छ। यसबाहेक अन्य टेस्ट टोलीको वरीयतामा कुनै परिवर्तन भएको छैन।
एक दिवसीय वरीयतामा भारत (१२२) को अस्ट्रेलिया (११६) भन्दा ६ रेटिङ अंक बढी छ। वरीयतामा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ। दक्षिण अफ्रिका अस्ट्रेलियाभन्दा चार रेटिङ अंक मात्र पछाडि छ। पाकिस्तान (१०६) चौथो स्थानमा छ भने न्यूजिल्यान्ड (१०१) पाँचौँ स्थानमा छ।
टी–२० आईमा भारत २६४ अंकसहित शीर्ष स्थानमा छ। तर, अस्ट्रेलियामाथिको उसको अग्रता ११ बाट ७ अंकमा झरेको छ। पछिल्लो वरीयतामा दक्षिण अफ्रिका छैटौँबाट चौथो स्थानमा उक्लिएको छ। पाकिस्तानी टोली दुई स्थान झरेर सातौँ स्थानमा पुगेको छ।